
काठमाडौं - बौद्धिक सम्पत्ति अन्तर्गत रहेका ट्रेडमार्क र डिजाइनको दर्ता सङ्ख्या बर्सेनि बढ्दै गएको छ । पछिल्लो १० वर्षमा ३१ हजार २१६ ट्रेडमार्क दर्ता भएका छन् ।
उद्योग विभागका अनुसार १० वर्षको अवधिमा ६ हजार ५५५ डिजाइन दर्ता भएका छन् । सो अवधिमा सबैभन्दा कम १६ वटा प्याटेन्ट दर्ता भएका छन् । ट्रेडमार्क र डिजाइनको तुलनामा प्याटेन्ट दर्ता न्यून रहेको छ ।
विभागका अनुसार आर्थिक वर्ष २०७०/७१ देखि आव २०८०/८१ सम्म सबैभन्दा धेरै स्वदेशी र विदेशी गरी ३१ हजार २१६ सङ्ख्यामा ट्रेडमार्क दर्ता भएका छन् । १० वर्षमा १५ हजार ९८२ स्वदेशी र १५ हजार २३४ विदेशी ट्रेडमार्क दर्ता भएका छन् ।
कम्पनीको ब्रान्ड मूल्य बढाउन, अरू व्यवसायलाई आफ्नो व्यापारिक ब्रान्ड बनाउन चोरी रोक्नुका साथै ब्रान्डका लागि हुन सक्ने कानुनी लडाइँको जोखिम न्यूनीकरण गर्न व्यवसायीले ट्रेडमार्क दर्ता गर्ने गरेका छन् ।
विभागका सूचना अधिकारी अर्जुनसेन ओलीले व्यवसायीले उत्पादनको छुट्टै ब्रान्ड कायम गर्न ट्रेडमार्क दर्ता धेरै हुने गरेको जानकारी दिए ।आफ्नो उत्पादनको ब्रान्ड आफूले सुरक्षित गर्नु पर्छ, अरूले दिएपछि मुद्दा मामिला झन्झट हुने गरेकाले ट्रेडमार्क दर्ता बर्सेनि बढ्दै गएको उनको भनाइ छ ।