
काठमाडौं - चर्चित कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ को अभिनय रहने नयाँ फिल्म ‘माग्ने राजा’ महाशिवरात्रिको शुभ अवसर पारेर शुभमुहूर्तसहित छायांकन सुरु गरिएको छ । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस फिल्मको निर्देशक ऋषि लामिछानेले गर्नेछन् ।
फिल्ममा घिमिरेसँगै आर्यन सिग्देल, विल्सन विक्रम राई (तक्मे बुढा), वर्षा शिवाकोटी, शिशिर वाङदेल, मिस पबी, शारदा गिरी लगायतका कलाकारको अभिनय रहनेछ। माग्ने बुढा र तक्मे बुढाको यो सहकार्य ‘राम कहानी’ पछि दशकपछि पर्दामा पुनः देखिन लागेको हो ।
फिल्मको पटकथा सामीप्यराज तिमल्सिनाले तयार गरेका छन्। उनले यसअघि ‘नाइ नभन्नू ल ५’, ‘जानी नजानी’, ‘क्याप्टेन’ लगायतका सफल फिल्ममा कथा/ पटकथा तथा संवाद लेखिसकेका छन्। काभ्रेको बल्थलीबाट फिल्मको छायांकन सुरु गरिएको छ ।
मुनाल घिमिरेको निर्माणमा बन्न लागेको यो फिल्म हरितालिका तीज २०८२ को अवसर पारेर प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ । घिमिरे नेपाली फिल्म उद्योगका अनुभवी निर्माता तथा निर्देशक मात्र नभएर सफल राजनीतिकर्मीसमेत हुन्।
उनी दाङ घोराही उपमहानगरपालिका-४ का वडा अध्यक्षसमेत हुन् । स्थानीय तहको निर्वाचन २०७९ मा एमालेबाट वडाध्यक्ष जितेका हुन् । उनले यसअघि ‘खबरदार’ र ‘इच्छा’ जस्ता फिल्म निर्देशन गरिसकेका छन्।
यस फिल्ममा समाजका आर्थिक उतार-चढावलाई मनोरञ्जनात्मक र मार्मिक शैलीमा प्रस्तुत गर्ने निर्माण टिमले बताएको छ ।