Harsamaya
शिव मन्दिर जान लागेको ‘इको भ्यान’ दुर्घटना: एकको मृत्यु, तीन जना घाइते 
म्याग्दीमा नारच्याङतर्फ जाँदै गरेको बा ६ च ४९४४ नम्बरको ‘इको भ्यान’ दुर्घटना।

म्याग्दी -  म्याग्दीमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा तीन जना घाइते भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ ।

दुर्घटनामा परी सो भ्यानका चालकसमेत रहेकी अन्नपूर्ण–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता)को घटनास्थलमै मृत्यु भएको सिमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रमुख प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले बताए । 

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरबाट नारच्याङतर्फ जाँदै गरेको बा६च ४९४४ नम्बरको इकोभ्यान आज सडकबाट कालीगण्डकी नदीको किनारमा खसेको थियो । 

दुर्घटनामा रुपा पुन, नमिता चोचाङ्गी र विष्णुकुमारी बुढाथोकी घाइते भएका छन् । उनीहरूको पोखरा अस्पतालमा उपचार भइरहेको छ ।  नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रु चढेको भ्यान सडकबाट करिब एक सय ५० मिटर तल कालीगण्डकीमा खसेको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update