
काठमाडौँ - धादिङको गल्छीमा पानी ट्याकर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गल्छी ३ मा बुधबार बिहान २ बजे भएको दुर्घटनामा गजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षीय जयराम चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए । दुर्घटनामा घाइते भएको उनीहरूको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको हमालले बताए ।
बा प्र ०१–००४ क ३३५२ नम्बरको ट्यांकर ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब ६०० मिटर तल खसेको थियो । सो दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइतेहरूमा गजुरी गाउँपालिका–६ बस्ने १९ वर्षीय सिरिस चेपाङ र १७ वर्षीय सुरेश चेपाङको जिल्ला अस्पताल धादिङमा उपचारपछि ट्रमा सेन्टर काठमाडौंमा पठाइएको हमालले बताए । सिरिसको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
चालक २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्यांकर धादिङको गुप्तेश्वरभिरस्थित भित्रि कच्ची सडकमा आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गरेको थियो । सो मन्दिरमा आज मेला लाग्ने गर्दछ ।