
काठमाडौं - नेपाल प्रहरीले महाशिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजा आउने भक्तजनलाई महँगा गहना लगाएर नआउन अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले आपाराधिक तथा चोरीका घटना हुनसक्ने हुँदा त्यस्ता महँगा गरगहना लगाएर आउँदा समस्या पर्नेतर्फ सचेत गराउँदै आवश्यक सुरक्षा सावधानी अपनाउन अनुरोध गरे ।
महाशिवरात्रिका अवसरमा शान्ति सुरक्षा कायम गर्न पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको र सहायता कक्षसमेत स्थापना भएको जानकारी गराउँदै उनले कुनै समस्या परेमा जानकारी गराउन पनि अनुरोध गरेका छन् ।
मंगलबार साँझ सूचना जारी गर्दै उनले धार्मिक आस्थाका नाममा विभिन्न आपाराधिक तथा अमर्यादित घटना घट्नसक्ने तर्फ सचेत हुन अनुरोध पनि गरेका छन् । विशेष गरी बालबालिका महिला, वृद्ध तथा फरक क्षमता भएका व्यक्तिलाई पशुपति दर्शनमा प्राथमिता दिन उनले अनुरोध गरेका छन् । बालबालिका हराउनसक्नेतर्फ पनि ध्यान दिन अनुरोध गरिएको छ ।
बाहिरी क्षेत्रमा ड्रोन क्यामेराबाट पनि निगरानी हुने तथा सिसी टिभीबाट पनि निगरानी हुने जानकारी गराउँदै प्रहरीले सादा पोसाकमासमेत प्रहरी परिचालन गरी शान्ति सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएको छ ।
चोरी, पाकेटमार गर्ने, असभ्य व्यवहार गर्ने र कानुनको उल्लंघन गर्ने व्यक्तिलाई कुनै छुट नहुने पनि प्रहरीले चेतावनी दिएको छ । समस्या परेमा आकस्मिक नम्बर १०० मा फोन गर्न पनि अनुरोध गरिएको छ ।