Harsamaya
नवलपरासीमा झडप हुँदा एकको मृत्यु, १५ प्रहरीसहित १९ जना घाइते
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा दुई पक्षबीच झडप ।

नवलपरासी - पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्हीनन्दन–३ कुश्माका ३५ वर्षीय विजय धवल रहेको ल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालले जानकारी दिए । ।

फुँयालका अनुसार धवलको रुपन्देहीको भैरहवास्थित सिटी अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।

झडपमा परी घाइते भएका मोहरम पावारिया र ४५ वर्षीय बैजनाथप्रसाद लोनियको सोही अस्पतालमा उपचार भइरहेको छ । पावारियाको अवस्था जटिल रहेकाले  सघन उपचार कक्षमा उपचार भइरहेको छ भने लोनियको दुवै खुट्टामा चोट लागेको अवस्था सामान्य रहेको फुयाँलले बताए । 

मंगलबार सामान्य विवादमा दुई पक्षबीच झडप भएको थियो । झडपमा १९ जना घाइते भएका थिए । झडपका क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको (जनपद) बा१झ ७४४८ नम्बरको गाडीमा समेत आगजनी गरिएको थियो ।

घाइते हुनेमा नेपाल प्रहरीका ११, सशस्त्र प्रहरीका चार र स्थानीय चार जना रहेका छन् । प्रहरीले अवस्था नियन्त्रणमा लिनका लागि पाँच राउण्ड अश्रुग्यास र तीन राउण्ड हवाई फायर गरेको थियो । 
 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  ०६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update