
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पछाडी ढकेल्न खोज्ने प्रयासलाई सफल हुन नदिइने बताएका छन् ।
मंगलबार काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मुलुक अँध्यारो युगबाट भर्खरै उज्यालो युगमा प्रवेश गरिरहँदा फेरि पछाडी ढकेल्न खोज्ने प्रयास भइरहेको भन्दै त्यसलाई सफल हुन नदिइने बताएका हुन् ।
उनले मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने धारणा राखे ।
उनले सरकारले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर काम गरिरहेको स्पष्ट गर्दै जनताले पनि यस यात्रामा साथ र सहयोग दिनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले आफैँ तिरेर उच्चशिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर उचित वातावरण दिनुपर्नेमा जोड दिए ।
त्यस्तै प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई गुठीमा लैजाने कुरा उचित नभएको भन्दै शिक्षा क्षेत्र खेलबाड गर्ने थलो नभएको जिकिर गरे ।
उनले एसइईमा धेरै संख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलव बढाउन नसकिने र विद्यार्थीलाई बुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने बताए ।