
काठमाडौं - प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र अहिले तराई–मधेश जागरण अभियानका क्रममा कोशी प्रदेशको मोरङमा छ । मोरङको कानेपोखरी गाउँपालिकामा आयोजित सभालाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहेका छन् ।
माओवादीले अभियानको तेस्रो दिनसम्म पार्टीका पदाधिकारी कोशी प्रदेशमै रहने निर्णय गरेको थियो । जसमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अध्यक्ष अग्नि सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिव र सचिवहरू सबैजना झापा, मोरङ र सुनसरीमा रहने भनिएको थियो । तर माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अभियान छाडेर हिँडेका छन् । उनी मंगलबार चितवन पुगेका छन् ।
चितवन पुगेर श्रेष्ठले जनतासँग माओवादी तराई–मधेस जागरण अभियान उद्घाटनका क्रममा आफूलाई बोल्नका लागि अवरोध सिर्जना गर्न खोजिएको बताएका छन् । उनले अध्यक्ष प्रचण्डको आग्रहमा आफूले उद्घाटन समारोहमा बोल्न सुरु गर्दा मनोवैज्ञानिक रूपमा अवरोध गर्ने स्थिति उत्पन्न भएकाले मन्तव्यलाई अघि नबढाएको बताए ।
झापाको कचनकवलमा आयोजित उद्घाटन कार्यक्रममा भएको घटनालाई सामान्य रूपमा लिन आग्रह गर्दै उनले प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन र एकताबद्ध ढङ्गले अघि बढाउन प्रतिबद्ध रहेको बताए । उनले जनतासँग माओवादी तराई–मधेश जागरण अभियानलाई उक्त घटनाले कुनै असर नपर्ने स्पष्ट पारे । श्रेष्ठले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरूको भावनालाई सकारात्मक रूपमा लिँदै सार्वजनिक रूपमा नै क्षमायाचना गर्न चाहेको बताए ।