
रुपन्देही - नेपालमा पहिलो पटक क्रिकेट मैदानमा फ्लड लाइट जडान गरिएको छ। तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा पाँच वटा फ्लड लाइट जडान गरिएको हो । जसका लागि सात करोड रुपैयाँ खर्च भएको रंगशालाका निर्देशक विनोद कुँवरले जानकारी दिए।
हाल लाइटको परीक्षण कार्य भइरहेको छ । पाँच बिघा क्षेत्रफलमा निर्माण भइरहेको यो रंगशालाको भिआइपी बक्स, प्लेयर बक्स, ड्रेसिङ रुम र मिडिया बक्सको निर्माण अन्तिम चरणमा पुगेको छ। २५ हजार दर्शक क्षमताको प्यारापिटसहित रंगशाला पाँच वर्षभित्र पूर्णरूपमा तयार हुने योजना छ।
यसैबीच, नेपाल क्रिकेट संघ (क्यान) ले आगामी २५ फागुनदेखि प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ । जसका खेलहरू एक्स्ट्राटेक ओभल, दाङको देउखुरी अन्तर्राष्ट्रिय मैदान र रूपन्देहीको सिद्धार्थ रंगशालामा हुनेछन्।