
भक्तपुर - नेपाली मौलिक खेल डोरीतान (टग अफ वार) लाई पुनर्जागरण गर्ने लक्ष्यसहित तेस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता आगामी शुक्रबारदेखि भक्तपुरमा सुरु हुने भएको छ।
नेपाल डोरीतान संघको आयोजनामा फागुन १६ र १७ गते भक्तपुरको सानोथिमीस्थित एसओएस हर्मन माइनर स्कुलमा प्रतियोगिता हुनेछ।
प्रतियोगितामा १८ टोलीका १६२ खेलाडी सहभागी हुनेछन्। पुरुषतर्फ ७ प्रदेश र ३ विभागीय गरी १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय गरी ८ टोली प्रतिस्पर्धा गर्नेछन्।
पुरुषतर्फ ६४० केजी र महिलातर्फ ५८० केजी तौल समूहमा खेल हुनेछ। विजेताले पुरुषतर्फ १ लाख र महिलातर्फ ६० हजार, उपविजेताले क्रमशः ५० हजार र ४० हजार पुरस्कार पाउने छन्।
नेपालको पुरानो मौलिक खेल भए पनि ओझेलमा परेको डोरीतानलाई राष्ट्रिय स्तरमा पुनःस्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष भवानीप्रसाद पौडेलले बताए।