
विराटनगर - माओवादी केन्द्रले आफ्नो पार्टीको कार्यक्रम हुने दिन विद्यालय बन्द गर्न पत्र काटेको छ ।
मोरङको कानेपोखरीमा फागुन १३ गते मंगलबार माओवादी अध्यक्ष प्रचण्ड सहितका नेताहरू आउने र जागरणसभा गर्ने भन्दै कानेपोखरी गाउँपालिकामा रहेका विद्यालय बन्द गर्न माओवादीले पत्र पठाएको हो ।
माओवादी केन्द्र कानेपोखरीका अध्यक्ष दुर्गाबहादुर कार्कीले पत्र नै पठाएर वरिपरिका विद्यालय बन्द गर्न आग्रह गरेका छन् । उनले कार्यक्रम हुँदा ध्वनि प्रदुषण बढी हुने, यातायातको समस्या हुन सक्ने भन्दै विद्यालय बन्द गरी सहयोग गर्न माग गरेका छन् ।
माओवादी केन्द्रले अहिले जनतासँग माओवादी तराई मधेश जागरण अभियान गरिरहेको छ ।
सोमबार झापाबाट शुरु भएको माओवादीको यो अभियान आज मोरङमा हुँदै छ भने १५ गते सुनसरीमा गर्ने तालिका रहेको छ । माओवादीले देशभर चैत्र ७ गतेसम्म यो अभियान गर्ने तालिका नै प्रकाशित गरेको छ ।