
ढाका - राष्ट्रिय नागरिक समिति (जेएनसी) र भेदभाव विरोधी विद्यार्थी आन्दोलन (एडिएसएम) का नेताहरूले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् ।
ढाका ट्रिब्युनका अनुसार शेख हसिनालाई अपदस्थ गराउने विद्यार्थी आन्दोलनका नेतृत्वकर्ताले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् । उनीहरुले शुक्रबार दिउँसो ३ बजे माणिक मिया एभिन्यूमा घोषणा गर्ने कार्यक्रम रहेको जनाएका छन् । जेएनसीका प्रमुख आयोजक सर्जिस आलमले सोमबार साँझ ७ बजे समितिको कार्यालयमा पत्रकार सम्मेलन गरी मिति घोषणा गर्ने जानकारी दिएका हुन ।
सर्जिस आलमले शुक्रबारको औपचारिक घोषणासँगै एडीएसएम र जेएनसीले जुलाई विद्रोहको भावनालाई कायम राखेर थप अधिकारको लडाइ जारी राख्न नयाँ पार्टी गठन गरिन लागेको बताए ।
जेएनसी र एडिएसएमका नेताहरूले फेब्रुअरी ५ मा सुरु भएको ‘तपाईंको आँखामा नयाँ बंगलादेश’ शीर्षकको कार्यक्रम अन्तर्गत राय अभियान सञ्चालन गर्दै आएका थिए । खासमा सो सर्वेक्षणको उद्देश्य नयाँ पार्टीको बारेमा जनमत संकलन गर्नु थियो । जेएनसीका सदस्य सचिव अख्तर हुसेनका अनुसार आइतबार दिउँसोसम्म २ लाखभन्दा बढी व्यक्तिले सर्वेक्षणमा भाग लिएका थिए ।
उनका अनुसार नयाँ राजनीतिक दल खोल्न अधिकांशले सुझाव दिए पछि जनताको प्रतिक्रिया र अपेक्षाका आधारमा पार्टीको एजेण्डा र कार्यक्रम तय गरिने भएको छ । भ्रष्टाचारमुक्त मुलुक, सुशासन, जवाफदेहिता, सामाजिक न्याय, समान अवसर, आर्थिक समृद्धि र संस्थागत सुधारलाई नागरिकले प्राथमिकतामा राखिने उनले बताए ।