Harsamaya

काठमाडौं - पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा ‘महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति–२०८१’ गठन भई विभिन्न उपसमितिहरू सक्रिय छन्।

सुरक्षा व्यवस्था कडा बनाइँदै, नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको व्यापक उपस्थिति रहनेछ। नेपाल स्काउट, लायन्स क्लब, विश्वहिन्दु युवा परिषद् लगायत स्वयंसेवी संस्थाहरूबाट सयौं स्वयंसेवक परिचालित हुनेछन्।

यस वर्ष पाँच लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ। विदेशी साधु-सन्तहरूको समेत बाक्लो उपस्थिति रहने कोषले जनाएको छ। साथै, पशुपति क्षेत्रमा माँस, मदिरा, गाँजा, भाङ, चरेश आदिको विक्री-वितरणमा कडाइ गरिनेछ।

फागुन १४ गते बुधबार महाशिवरात्री मनाइँदैछ, जसका लागि चारवटा मुख्य प्रवेशद्वार व्यवस्था गरिएको छ। भक्तजनहरूलाई सहज दर्शनको सुविधा दिन सरसफाइ, सजावट, चन्दन ग्रहण तथा रात्रिकालीन अर्चनाको विशेष तयारी गरिएको छ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update