काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमा माओवादीको छाप देख्नेले संविधानलाई च्यात्न खोजेको बताएका छन् ।
सोमबार झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टीको जनतासँग माओवादी तराई मधेश जागरण अभियान उद्घाटन गर्दै प्रचण्डले संविधानको प्रस्तावनादेखि अन्त्यसम्म माओवादीको छाप देख्नेले संविधान मन नपराएको र च्यात्न खोजेको बताएका हुन् ।
प्रचण्डले जनताको त्याग र बलिदानका कारण मुलुकको परिवर्तन सम्भव भएको भन्दै अहिले परिवर्तनमाथि नै प्रश्न उठाउन खोजिएको समेत बताए ।
दुई–दुई पटक सदन विघटन गरेर संविधान च्यात्ने प्रयासलाई माओवादीले नै असफल बनाएको भन्दै अध्यक्ष प्रचण्डले अहिले पनि त्यही कसरत देखिन थालेको जिकिर गरे । उनले अहिलेको गठबन्धन सरकार असंवैधानिक र तानाशाही प्रवृत्तिको सरकार रहेको दोहोर्याए । अहिले नै सरकार फेरिहाल्ने कसरतमा माओवादी नरहेको उल्लेख गर्दै प्रचण्डले माओवादी पार्टी जनतामा केन्द्रित भएको बताए ।
झापाबाट सुरु भएको जनतासँग माओवादी तराई मधेस जागरण अभियान चैत ७ गते कन्चनपुरमा पुगेर समापन हुने माओवादी केन्द्रले जनाएको छ ।