
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक २०८१’ माथिको छलफलका क्रममा उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको अन्तरसम्बन्धलाई अझै स्पष्ट गर्नुपर्ने आवश्यकता औँल्याए ।
‘सशस्त्र प्रहरीको बढुवाको पहिलो आधार ज्येष्ठता नै बनाउनुपर्छ । कार्यसम्पादन मूल्याङ्कनलाई बढुवाको पहिलो आधार बनाउँदा चलखेलको आशंका हुन्छ’, सांसद पाण्डेले भने ।
सांसद पाण्डेले ‘चेन अफ कमाण्ड’मा विधेयक फितलो देखिएको टिप्पणी गरे । सो विधेयकमाथिको छलफलमा नेपाली कांग्रेसका सांसद जीवन परियारले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका अलग अलग जिम्मेवारी भएकाले त्यसलाई अझ स्पष्ट बनाउनुपर्नेमा जोड दिए ।
‘सशस्त्र प्रहरीले अनुसन्धान गर्ने हैन । नेपाल प्रहरीले अनुसन्धान गर्ने हो । आ-आफनो क्षेत्राधिकार स्पष्ट गर्नुपर्छ’, सांसद परियारले भने, ‘सशस्त्रलाई सीमा सुरक्षाको छुट्टै मापदण्ड बनाएर अधिकार दिन सक्यौँ भने ऐन समृद्ध हुन सक्छ ।’