Harsamaya
प्रचण्डले भने - अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

झापा - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब कसैसँग गठबन्धन नगरी आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने बताएका छन् । 

जनतासँग माओवादी तराई मधेश जागरण अभियानअन्तर्गत झापाको बाह्रदशी गाउँपालिकामा आयोजित जनभेटघाट तथा खबरदारीसभालाई सम्बोधन गर्दै प्रचण्डले आजसम्म जो–जोसँग मिलेर चुनाव लडेपनि उनीहरू नै ठूलो दल बनेको भन्दै अब निर्वाचनमा कसैसँग गठबन्धन नहुने बताएका हुन् ।

उनले अब जनताको तागत र जनतामा चुनाव लडिने बताउँदै भने- ‘हामी अब आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं । माओवादी आफ्नै खुट्टामा उभिन सक्दैन भन्ने एउटा हल्ला, दुष्प्रचार गरिएको थियो । हामीले सहकार्य गरेर हामी त ठूलो भएनौं, कांग्रेससँग सहकार्य गरेर पनि माओवादी ठूलो त भएन, एमालेसँग सहकार्य गरेर पनि ठूलो भएन । बरु हामीले जोसँग सहकार्य गर्यौं त्यही पार्टी ठूलो भयो । कहिले कांग्रेस ठूलो भयो, कहिले एमाले ठूलो भयो । हामी जतिबेला सहकार्यमा थिएनौं, त्यो बेलामा ठूलो पार्टी थियौं । त्यसकारण आफ्नै खुट्टामा उभिएर, जनताको तागतको बलमा चुनाव लड्छौं । उपचुनावमा हामी एक नम्बर पार्टी बन्यौं । मैले कांग्रेस र एमालेका नेताहरूलाई भन्ने गरेको छु– तपाइँहरू मिलिराख्नुस् ।’

साथै, माओवादी अब बीचमै सरकारमा सहभागी नहुने उनले बताए । आफूले अहिलेसम्म पुगेका सबै ठाउँबाट फेरि सरकारमा नजाने सुझाव पाएको बताउँदै अध्यक्ष प्रचण्डले आफूहरूको ध्यान जनता र आफ्नो वर्ग, समुदायतिर केन्द्रित भएको सुनाए ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update