Harsamaya
एकीकृत समाजवादीको ठहर - भ्रष्टाचारीहरू सरकारबाट संरक्षित छन्
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय।

काठमाडौं - नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारीहरु सरकारबाट संरक्षित भएको आरोप लगाएको छ ।

सोमबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव घनश्याम भुसालले मुलुकमा भ्रष्टाचार मौलाएको र भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको निष्कर्ष निकालेको जानकारी दिए। 

भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिई अविलम्ब कडा भन्दा कडा कारबाही गर्न र सहकारी प्रकरणमा सम्बन्धित पक्षको पैसा फिर्ता गराउन बैठकले सरकारसँग माग गरेको छ। बैठकले  भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने गरि संसद छलेर अध्यादेश ल्याइएको भन्दै अध्यादेशको विरोधमा मतदान गर्ने निर्णय गरेको छ।

त्यस्तै बैठकले  राष्ट्रिय अर्थतन्त्रलाई दिगो रोजगारी मुखी बनाउने दिशामा कदम चाल्न, वार्ता र सम्वादको माध्यमबाट ताप्लेजुङ केबलकारको समस्या समाधान गर्न र दूध र उखुको भुक्तानी गर्न सरकारसँग माग गरिएको महासचिव भुसालले बताए। 

उनले सरकार नालायक र दमनकारी बन्दै गएको निष्कर्ष निकालिएको बताए । बैठकले जनताका आधारभूत मुद्दाहरूलाई उठाउँदै जनता माझ जाने र नेपालको राजनीतिलाई सही दिशामा डोर्याउने गरि आन्दोलनको कार्य योजनाका रुपमा पार्टीको आगामी कार्य योजना प्रस्ताव पारित गरेको महासचिव भुसालले जानकारी दिए। 

गत वर्षदेखि बन्धक रहेका नेपाली नागरिक विपिन जोशीको यथाशीघ्र रिहाइका लागि माग समेत बैठकले गरेको छ । बैठकले वर्तमान राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थिति र हाम्रा कार्यभारसम्बन्धी राजनीतिक प्रतिवेदन विभिन्न सुझावसहित पारित गरेको छ । त्यस्तै पार्टीको नियमावली, विनियमहरू, विभिन्न निर्देशिका र महाधिवेशनको सामान्य समीक्षा सुझावसहित पारित गरेको महासचिव भुसालले बताए ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update