Harsamaya
राजेन्द्र महतोको आरोप - एमाले अवसरवादी गुटको समूह, माओवादीले जनताको विश्वास गुमायो
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो।

काठमाडौं - राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेकपा एमाले नव पुँजीवादी र मध्यम वर्गीय स्वार्थमा फसेको र माओवादी केन्द्रले जनताको विश्वास गुमाएको टिप्पणी गरेका छन् ।

आजदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा अध्यक्ष महतोले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा एमालेले प्रारम्भमा उत्पीडित जाति वर्गको प्रतिनिधित्व गर्ने दाबी गरे पनि अहिले पूँजीवाद र अवसरवादको मिश्रणमा फसिसकेको टिप्पणी गरेका छन् । उनले एमाले सैद्धान्तिक रूपमा विचलनको अवस्थामा रहेको र स्पष्ट नीति निर्माण गर्न असफल भइसकेको दाबी गरेका छन् ।

साथै, विश्वमै कम्युनिष्ट विचारधारा असफल सिद्ध भइसकेको अध्यक्ष महतोको दाबी छ । असफल विचार धाराबाट अलग भइसकेर एमाले सबैभन्दा बढी अवसरवादी बनिसकेको उनको आरोप छ । साथै, एमालेले आफ्नो अस्तित्व जोगाउन जुनसुकै सम्झौता गर्न पनि पछि नपर्ने उनको टिप्पणी छ ।

त्यस्तै महतोले माओवादी केन्द्रले अहिले जनताको विश्वास गुमाएको बताएका छन् । माओवादीले वर्ग संघर्ष र राष्ट्रिय मुक्तिलाई समाहित गर्ने प्रयास गरेको थियो भन्दै जनयुद्धबाट आएको माओवादी हेटौंडा महाधिवेशनपछि यो पार्टी निम्नपुँजीवादी संशोधनवादमा फस्दै गएको टिप्पणी गरेका छन् ।
 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update