Harsamaya
ग्रीस र स्वीडेन पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सुर्खेत सिम्ता गाउँपालिका-४ घर भई ललितपुर, ललितपुर महानगरपालिका-२९ बस्ने ३७ वर्षीय ईन्द्र बहादुर केसी र बारा करैयामाई गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१६ ढुङ्गेधारा बस्ने ४६ वर्षीय बिशुनदयाल चौधरी रहेका छन् । 

पक्राउमध्ये ईन्द्र बहादुरले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २४ लाख रूपैयाँ र बिशुनदयालले स्विडेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको जनाएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update