Harsamaya
खोटाङमा गरिब, दलित र असहाय बालबालिकाका लागि पहिलो निःशुल्क आवासीय विद्यालय
जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेमा गरिब, दलित र असहाय बालबालिकालाई लक्षित गरेर आवासीय विद्यालय सञ्चालनमा ल्याउने कार्यक्रम, गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ द्वारा उद्घाटन।

खोटाङ - जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेमा गरिब, दलित र असहाय बालबालिकालाई लक्षित गरेर निःशुल्क आवासीय शिक्षाका लागि विद्यालय सञ्चालनमा ल्याइएको छ । पहिलो चरणमा गाउँपालिकाभरिका १९ जना बालबालिका भर्ना गरेर आवाससहितको निःशुल्क शिक्षा उपलब्ध गराउन काहुलेस्थित लक्ष्मी माध्यमिक विद्यालयलाई आवासीय विद्यालय बनाइएको हो ।

गाउँपालिकाभित्रका गरिब, दलित र असह्य बालबालिकालाई शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नदिन आवासीय विद्यालय सञ्चालन गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले जानकारी दिए । “गरिब, दलित र असह्य बालबालिकाका लागि गाउँपालिकाका तर्फबाट खाना, खाजा, लत्ताकपडा र शैक्षिक सामग्रीसहित आवासको व्यवस्था मिलाएका छौँ । अब गाउँपालिकाभित्रका कुनै पनि बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित हुनु पर्दैन”, उनले भने, “यसै शैक्षिकसत्रबाट सुरुआत गरिएको आवासीय शिक्षाका लागि यस वर्ष १९ जना बालबालिका भर्ना भएका छन् । आगामी दिनमा यसलाई बढाउँदै प्रभावकारी रूपमा सञ्चालन गर्ने योजना बनाइएको छ ।”

कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा सञ्चालन गरिएको आवाससहितको निःशुल्क शिक्षा कार्यक्रमका लागि दुईजना शिक्षक तथा एकजना कर्मचारी व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ । विद्यालयमा खटिएका शिक्षक तथा कर्मचारीले चौबिसै घण्टा बालबालिकाको रेखदेख तथा अध्यापनको काम गर्ने गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए ।

तत्कालका लागि विद्यालयकै एउटा भवनमा सञ्चालित निःशुल्क आवासीय विद्यालय कार्यक्रमको औपचारिक उद्घाटन प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेश सरकारका पूर्वऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’ले गरे । गाउँपालिकाको लगानीमा गरिब, दलित र असह्य बालबालिकालाई लक्षित गरेर निःशुल्क आवासीय विद्यालय सञ्चालन भएपछि खर्च अभावका कारण पढाइ छाड्नुपर्ने अवस्थाका विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।

पहिलो चरणमा कक्षा १ देखि १० सम्म सञ्चालन गरिएको निःशुल्क आवासीय शिक्षा कार्यक्रमलाई प्रभावकारिताका आधारमा थप गर्ने योजना बनाइएको गाउँपालिकाले जनाएको छ । शैक्षिकसत्रको सुरुबाटै सञ्चालन गरिएको निःशुल्क आवासीय शिक्षा कार्यक्रममा १५ जना छात्र र चारजना छात्रा सहभागी भएका छन् ।

आवासीय विद्यालयमा अध्ययन गर्न चाहने अन्य विद्यार्थीले वार्षिक ४० हजार उपलब्ध गराएको खण्डमा उनीहरूलाई समेत भर्ना गरेर सहभागी गराउन सकिने गाउँपालिकाले जनाएको छ । विसं २०१४ मा स्थापना भएको उक्त विद्यालयमा दुई सय ६५ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक कृष्णबहादुर राईले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्यसमेत रहेका नेता राईले मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयहरूलाई आवासीय विद्यालयका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । “नेपाल सरकारको ठूलो लगानी रहेको सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर खस्कँदो अवस्थामा छ । ग्रामीण भेगका धेरै विद्यालय विद्यार्थीको पहुँचभन्दा टाढा छन्”, उनले भने, “विद्यालय टाढा भएकै कारण कतिपय विद्यार्थीले आफ्नो पढाइलाई निरन्तरता दिन पाएका छैनन् । अब बन्ने शिक्षा विधेयकमा सामुदायिक विद्यालयहरू आवासीय बनाउने नीति ल्याउन जरुरी छ ।”

प्रतिनिधिसभामा विचाराधीन अवस्थामा रहेको शिक्षा विधेयकमा आफूले सामुदायिक विद्यालयलाई पूर्ण आवासीय बनाउनुपर्ने प्रस्तावसमेत पेस गरेको सदस्य राईले जानकारी दिए । सामुदायिक विद्यालयमा राज्यको यति ठूलो लगानी भएर पनि खस्कँदै गएको शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि वर्तमान सरकारले बेलैमा ध्यान दिनुपर्नेमा सदस्य राईले जोड दिए ।

उद्घाटन कार्यक्रमलाई पूर्ववन तथा वातावरण राज्यमन्त्री शिवकुमार बस्नेत, प्रदेशसभा सदस्य एवम् सार्वजनिक लेखा समितिका सभापति राजन किराती ‘बासु’ लगायतले सम्बोधन गरेको थियो । जिल्लाको दक्षिण क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाले काहुलेमा सञ्चालन गरेको निःशुल्क आवासीय शिक्षा कार्यक्रम जिल्लामै पहिलो हो ।

शिक्षा क्षेत्रको सुधारमा लागिपरेको उक्त गाउँपालिकाले दुई वर्षदेखि छजना छात्रछात्रालाई बाली विज्ञान विषयमा अध्यापन गराइरहेको छ । आफ्नो अध्ययन पूरा गरेपछि गाउँपालिकामै फर्किएर काम गर्ने सर्तमा छजना छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराइएको गाउँपालिका प्रमुख राईले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update