Harsamaya
रिङ्‍कुकुमारीको बलात्कार र मृत्यु प्रकरण: आठ जना प्रहरीको नियन्त्रणमा
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सिरहा - रिङ्कुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटना प्रकरणको अनुसन्धानका लागि प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ ।

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटना प्रकरणको अनुसन्धानका लागि प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको हो ।

पञ्चायत बसेर पीडित परिवारलाई घटना ढाकछोप गर्न र लेनदेनमा मुद्दा मिलाउन दबाब दिने तथा प्रत्यक्षदर्शी गरी आठ जनालाई नियन्त्रणमा लिइएको छानबिन समितिका संयोजक वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । 

नियन्त्रणमा रहेकाविरुद्ध जाहेरी नपरेको र घटना दबाउन पीडित परिवारलाई आर्थिक प्रलोभन दिएको पुष्टि भए सोहीअनुसार कारबाही हुने उनले बताए । 

गत माघ २७ मा शौच गर्न गएकी रिङ्कुलाई अपहरण गरी तीन युवाले बलात्कार गरी अचेत अवस्थामा घर पुर्याएको बताइएको छ । उनले आफूमाथि बलात्कार गरेको रिङ्कुले बताएकी थिइन् । घटना मिलाउन गाउँमै पञ्चायत भएको थियो । त्यसको भोलीपल्ट माघ ३० मा रिङ्कु घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

सुरुमा इलाका प्रहरी कार्यालय लहानले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अघि बढाएकामा सामूहिक बलात्कार भएको समाचार सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति बनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update