Harsamaya

काठमाडौं - नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राजतन्त्र फर्काउँछु भन्नु स्टन्डबाजीमात्रै भएको बताएका छन् । 

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले मुलुकमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको भन्दै राजतन्त्र फर्काउँछु भन्नु स्टन्डबाजीमात्रै भएको बताएका हुन् । 

उनले राजनीतिक दल खोजेर पूर्वराजालाई जनतामाझ प्रतिष्पर्धा गराउन राजावादीहरुलाई सुझाव दिए । जनताले ७० वर्षसम्म विभिन्न आन्दोलन गरेर औपचारिक रूपमा राजसंस्था अन्त्य गरेको अवस्थामा कुनै पनि तरिकाले राजसंस्था फर्किन नसक्ने उनले बताए । 

त्यस्तै पौडेलले सरकारले केही नपाएर कुलमान घिसिङलाई निरन्तर खेद्ने काम गरेको आरोप लगाए । कुलमानलाई हटाउन मन्त्रिपरिषद्मा प्रस्ताव लाने तयारी भएको सुनेको भन्दै उनले देशका लागि राम्रो काम गर्नेलाई खेद्ने काम उचित नभएको धारणा राखे । 

उनले देशलाई विद्युतीकरण गर्ने काममा कुलमानले महत्वपूर्ण काम गरेको तर सरकारलाई पाच्य नभएको बताए ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update