
काठमाडौं – नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समितिले नविन श्रेष्ठ निर्मित तथा कुमार कट्टेल निर्देशित चलचित्र ‘लाज शरणम्’ लाई नेपालभर प्रदर्शनको अनुमति दिएको छ।
यस अघि पाटन उच्च अदालतले ‘लाज शरणम’को प्रचारप्रसार रोक्न आदेश जारी गरेको थियो।
पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दामा सुनुवाई गर्दै गत मंगलबार न्यायाधीधद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको थियो।
जेपिटी क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्मको उक्त फिल्म २ घण्टा ४० मिनेट ५२ सेकेण्ड लामो छ। सेन्सर बोर्डले यसलाई ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गर्दै सबै उमेर समूहका दर्शकहरूका लागि उपयुक्त ठहर गरेको छ। चलचित्रको प्रदर्शन अनुमति २०८६ फागुन ८ गतेसम्म (फेब्रुअरी २०, २०३०) मान्य हुनेछ।
साथै, फिल्ममा देखाइएका धुम्रपान/मद्यपानका दृश्यहरूमा अनिवार्य रूपमा चेतावनी सन्देश राख्नुपर्ने निर्देशन समेत दिइएको छ।
गत वर्षको फाल्गुण २ गते चलचित्रको नाम घोषणा गरिएको थियो । २०८१ को सुरुवातबाट फिल्मको सुटिङको काम अघि बढाइएको थियो । उक्त फिल्म महाशिवरात्रि (फागुन १४ गते)मा देशभरका हलहरूमा प्रदर्शन हुँदैछ।
श्रेष्ठको निर्माणमा बनेको यो फिल्ममा राम नरेश शाह र सृजना खड्का सह-निर्माता छन् भने अर्जुन घिमिरे 'पाँडे' कार्यकारी निर्माता रहेका छन्।