
काठमाडौं - विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाको महत्वपूर्ण क्षेत्र स्वयम्भूलाई केन्द्रित गरी यहाँ वरपरका दृश्यसमेत कैद गर्दै आज कलाकारले क्यान्भासमा रङ भरेका छन् ।
बीस जनाभन्दा बढी कलाकारले आज दिनभर स्वयम्भूको फेदीमा बसेर क्यानभासमा रङ भर्दै विभिन्न कलाकृति उतारे । यी कलाकर्मीले स्वयम्भूनाथ र त्यस वरपर बनाइएका आकर्षक संरचना तथा उपत्यका आसपासका दृश्य एउटै क्यानभासमा अटाएका थिए ।
‘आहा ! कति राम्रो स्वयम्भूनाथ’, सहभागीमध्येका ईश्वर शर्माले भने, ‘हेर न ऊ त्यो माथिको स्वयम्भू दुरुस्तै बनेको छ ।’
यहाँ उपस्थित भएका कला पारखी तथा दर्शकहरूले क्यान्भास र आर्ट पेपर हेर्दै आहा ! कति राम्रो स्वयम्भू भन्दै प्रशंसा गरेका थिए । यो अवसर आजदेखि सुरु स्वयम्भू महोत्सवले जुराएको हो । महोत्सव व्यवस्थापन समितिका सदस्य तथा उक्त कला कार्यशाला संयोजन गरेका कलाकार दिवेश प्रधानले अग्रज र नवकलाकार गरेर २० जनाभन्दा बढी चित्रकार भेला भई आज दिनभर यहाँ कला सिर्जना गरिएको बताए ।
काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो स्वयम्भू । यसलाई महाचैत्य पनि भनिन्छ । यही चैत्यलाई मुख्य विषय बनाएर कलाकारले कुची चलाएका थिए । जलरङ, एक्रेलिक, तेल रङलगायत विभिन्न विधामा चित्रकारले बौद्ध स्तूप बनाएका थिए । यहाँ उपत्यकामा पानी भरिएका बेला विपस्वी बुद्ध आएर तीनपल्ट वरिपरिको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसी तपस्या गरेको किंवदन्ती छ ।