
काठमाडौं - साहित्यसुधा नेपालले दुई स्रष्टालाई सम्मान गरेको छ । छैटौँ वार्षिकोत्सवको अवसरका शनिबार आयोजित कार्यक्रममा पोषराज पौडेल र दिव्य लक्ष्मी पोखरेललाई सम्मान गरेको हो । यस वर्षको हरिभक्त साहित्यसुधा सम्मान २०८१,कवि पोखरेल र केवलपुरे किसान साहित्यसुधा सम्मान तथा पुरस्कार २०८१ बाट पौडेल सम्मानित भएका छन् ।
पोखरेलले कुनै पनि औपचारिक शिक्षा विना आफ्नो स्व-अध्ययनबाट छन्दमा उत्कृष्ट कविता सिर्जना गरेर कृति प्रकाशन गरेकी छिन् भने पौडेलका दर्जनौँ कृति प्रकाशित भएका छन् । प्रमुख अतिथि डा.नवराज लम्सालले साहित्यले समाजलाई र देशलाई केही दिन सक्ने साहित्यको सिर्जना गर्न साधनामा निरन्तर लाग्नुपर्ने बताए । जस्तो बोलिन्छ त्यस्तै जीवन बाँच्न सकियो भने सार्थक हुने बताउँदै सम्मानित व्यक्तित्वहरूलाई बधाई ज्ञापन गरे ।
कार्यक्रममा प्रमुख अतिथि डा. लम्साल, विशेष अतिथि प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा.डा.देवी नेपाल, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, अध्यात्म चिन्तक वरिष्ठ साहित्यकार हरिभक्त सिग्देल, प्रा.डा.गोविन्दमानसिंह कार्की, वरिष्ठ साहित्यकार डा.गीता त्रिपाठी, सामालोचक डा.अशोक थापा, लिलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष बिजयध्वज थापा,वरिष्ठ पत्रकार लक्ष्मण वियोगी, जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईं, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली,महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, नारी महाकाव्यकार सीता भट्टराई,साहित्यकार ज्योती जङ्गल,चाँगुनारायण साहित्यसमाजका अध्यक्ष लालबहादुर भुजेललगायतको सहभागिता रहेको थियो ।
मनिषा प्रसाईंको परिकल्पनामा स्थापना भएको साहित्यसुधा नेपाल संस्थाकी अध्यक्ष कल्पना काफ्लेको नेतृत्वमा रहेको छ । साहित्यसुधा नेपालले विगत तीन वर्षदेखि स्रस्टाहरूलाई सम्मान गर्दै आएको संस्थाकी अध्यक्ष काफ्लेले जानकारी दिइन् ।