Harsamaya
सेतोपुलको सार्वजनिक शौचालय महिनौंदेखि बन्द

काठमाडौं - काठमाडौं वडा नम्बर २९ सेतोपुलको मुखैमा बनेको सार्वजनिक शौचालय अझै खुलेको छैन । वडा अध्यक्ष कुश ढकालले पानी तान्ने मेसिन बिग्रेर शौचालय बन्द गर्नुपरेको बताएको एक हप्ता बढी भएपनि शौचालय अझै नखुलेको हो । उनले गत माघ २९ गते केही दिनमै शौचालय खुल्ने बताएका थिए । 

अझै पनि सो मेसिन मर्मत भइनसकेकाले शौचालय नखुलेको बिहीबार उनले हर समयलाई बताए । ‘मेसिन तलसम्म गाडिएको रहेछ पर्सि बनाएर निपर्सि शौचालय खोल्छौ’, उनले भने, ‘मलाई पनि टेन्सन छ खानेपानीको पाइप पार्देर हैरान गर्छन् ।’ 

काठमाडौंकै वडामा रहेको शौचालयको मेसिन बिग्रेर शौचालय नै महिनौ बन्द हुनु भनेको लाजमर्दो कुरा हो । तर सार्वजनिक शौचालय भने महिनौं देखि बन्द रहेको स्थानीयवासीले गुनासो गरेका छन् । उक्त शौचालयमा दिशा गरेको १० रुपैयाँ र पिसाबको ५ रुपैयाँ लिने गरिएको थियो । 

काठमाडौं महानगरले सार्वजनिक शौचालय निःशुल्क गर्ने निर्णय गरेपनि वडा नम्बर २९ का अध्यक्ष ढकालले शौचालय प्रयोग गरेबापत शुल्क उठाउँदै आएका थिए । उनले मेयर बालेन शाहले सफा गर्ने व्यक्तिलाई तलब दिएमात्र शौचालय निशुल्क गर्न सकिने बताएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update