
सिन्धुपाल्चोक - सुकुटेमा प्रेस चौतारी नेपाल जिल्ला शाखा सिन्धुपाल्चोकको छैठौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सर्वसहमत रूपमा अध्यक्षमा विदुर आचार्य निर्वाचित भएका छन् । आचार्य यसभन्दा अघि पनि अध्यक्ष रहेका थिए ।
समितिको उपाध्यक्ष सागर खड्का,महिला उपाध्यक्ष गोमा केसी, सचिवमा दिपिन ढुंगाना , उप सचिवमा सुशिल सुवेदी समावेशी उप सचिवमा सुनिता लामा र कोषाध्यक्षमा बिसाल आचार्य निर्वाचित भएका छन् ।
त्यस्तै समिति सदस्यहरूमा जनार्दन नेपाल, प्रमिला विक , सहदेव ढुंगाना, मधु सुदन ढुंगाना रहेका छन् ।
अधिवेशनले प्रदेश प्रतिनिधिहरूमा देवराज सुवेदी र यज्ञ दंगाल , केन्द्रीय प्रतिनिधिमा माधव नेपाल र टीका सुवेदीलाई छनोट गरिएको प्रेस चौतारीका निवर्तमान उपाध्यक्ष देवराज सुवेदीले बताए ।
नेकपा एमालेका स्थायी समिति सदस्य शेर बहादुर तामाङले अधिवेशनको उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि तामाङले अधिवेशनमा बोल्दै प्रविधिसँग लड्न प्रविधिकै प्रयोग गर्नुपर्ने बताए । अवास्तविक कुरामा विश्वास गर्नेहरु हाबी भएकोले यसलाई चिर्नुपर्ने दायित्व आम सञ्चारकर्मीहरूको रहेको तर्क गरे ।
प्रेस चौतारीका महासचिव हिरालाल लामाले देशमा हाउगुजी र सामाजिक सञ्जालको पछाडि दौडिरहेकोमा दुःख व्यक्त गरे । जहाँ बिचार सिद्धान्त र कार्यदिशा विहीन छ । विचार सिद्धान्त र आचरण भएका पार्टीहरूले सही रूपले समयमा नै ध्यान दिन नसके अराजकताको हाबी हुने बताए ।
लामाले दिनेश थापा पत्रकारितामा सिन्धुपाल्चोकको आयम भएको टिप्पणी गरे । उनले थापालाई संगठनको निर्णय विपरीत लागेको भन्दै सही दिशा र कार्यनीतिलाई पकडेर अघि बढ्न आग्रह गरे ।
एमाले पार्टी पोलिब्यूरो सदस्य अरुण नेपालले संविधानमाथि धावा बोल्दै पूर्वराजा ज्ञानेन्द्र शाहले २०४६ पछिको गतिविधि सही नभएको भन्ने निरंकुशता निम्त्याउने अभिव्यक्ति प्रति खेद प्रकट गरे । रगत बगाएर ल्याएको व्यवस्थाको संस्थागत विकासमा कलम चलाउन सञ्चारकर्मीहरूलाई आग्रह गरे ।
एमाले बागमती प्रदेश सदस्य एवं मेलम्ची नगरपालिका उप प्रमुख उमा प्रधान पत्रकारिताको गरिमालाई चुम्न सक्ने नेतृत्व चयनको शुभकामना व्यक्त गरिन् । पार्टी बागमती प्रदेश सदस्य तथा सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र तिमल्सिनाले सिन्धुपाल्चोकको बेथितिहरू चिर्न सक्ने आँट र साहस गरोस् भन्ने कामना गरे ।
एमालेका जिल्ला अध्यक्ष होम नारायण श्रेष्ठले प्रेस चौतारीमा केही संकटहरू रहेको भन्दै नीति र विधिमा चल्न आग्रह गरे । संगठनमा लागेर संगठनकै हित विपरीत लाग्ने जो कोहीलाई क्षम्य नहुने भन्दै सही दिशामा अघि बढ्न सबैलाइ सुझाए । त्यस्तै एमालेका पूर्व जिल्ला अध्यक्ष कमल नेपालले हरेक गलत चीजको आलोचना गर्दै समाजलाई सही दिशामा बढाउने भूमिकामा अग्रसर रहन आग्रह गरे ।
चौतारीका प्रदेश इन्चार्ज बिष्णु कार्कीले प्रविधि प्रयोगको कौशलता विकास गरि पेशागत दक्षता वृद्धि गर्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगालले आफू प्रेस चौतारीको साथसमेत पाएर अध्यक्ष पदमा निर्वाचित भएकोले चौतारीप्रति आभार व्यक्त गरे । उनले महासंघमा कसैलाई काख र कसैलाई पाखा राखेर व्यवहार नगर्ने प्रतिबद्धता जनाए ।
त्यसैगरि प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकका अध्यक्ष अशोक पराजुलीले सक्षम नेतृत्व चयन सहित अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा एमालेका नेताहरू , प्रेस चौतारीका सिन्धुपाल्चोक सदस्यहरूको सहभागिता रहेको थियो ।
चौतारीले अधिबेशनको अवसरमा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको मंसिर २८ मा सम्पन्न निर्वाचनबाट निर्वाचित ध्रुव दंगाल नेतृत्वको समितिलाइ सम्मान गरेको थियो ।