काठमाडौं - माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्दा उमेर हद लगाउने पक्षमा बहुमत आएको छ ।
उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा शनिबार देशभर मतदान भएको थियो । उमेर हद नलगाउने भन्दा लगाउने पक्षमा २१ मत बढी आएको छ ।
अखिल क्रान्तिकारीका २ हजार ३९८ मतदातामध्ये करिब १ हजार ७८९ मत खसेको थियो । तीमध्ये १ हजार ७७९ मत सदर भएको थियो । ३२ वर्षे उमेर हद लगाउने पक्षमा ९०० र नलगाउने पक्षमा ८७९ मत आएको प्रमुख निर्वाचन अधिकृत मुक्ति नारायण प्रधानले जानकारी दिए ।
गत असोज १० गतेदेखि काठमाडौंको कीर्तिपुरमा आयोजित अखिल क्रान्तिकारीको २३ अौं राष्ट्रिय सम्मेलन उमेर हदको विषयमा विवाद चर्किँदा नेतृत्व चयन नगरी स्थगित गरिएको थियो । राष्ट्रिय सम्मेलनमा३२ वर्षे उमेर हद लागू हुनुपर्ने विषय उठेको थियो ।
त्यसमा सहमति नजुटेपछि मंसिर २३ गते नेतृत्व चुन्ने भन्दै सम्मेलन स्थगित गरिए पनि विवादका कारण रोकिएको थियो ।
त्यसैले ३२ वर्षे उमेर हद लगाउने कि खुल्ला प्रतिस्पर्धाको आधारमा नेतृत्व चुन्ने भनेर शनिबार निर्वाचन गरिएको थियो ।
उमेर हद लगाउने पक्षमा बहुमत आएकाले अब ३२ वर्ष ननाघेकाहरुले मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी केन्द्रीय नेतृत्व चयन गरिनेछ ।
अखिल क्रान्तिकारीको पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि यही माघ १२ गते दोस्रो चरणको निर्वाचन हुनेछ । यसअघि पुस १७ गते नेतृत्व चयनका लागि निर्वाचन निर्धारण गरिएको थियोे ।
निर्वाचन कार्यतालिका अनुसार माघ ५ गते केन्द्रीय पदाधिकारी र सदस्यका उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।
भौगोलिक र गैरभौगोलिक गरी ९ प्रदेशस्तरमा मतदान हुने छ ।
हेर्नुहोस् मतदानको नतिजा-