Harsamaya
तुम्लिङटारमा तीन सातापछि पुग्यो बुद्ध
तुम्लिङटार विमानस्थल

सङ्खुवासभा - हिमाली जिल्ला सङ्खुवासभाको एकमात्र तुम्लिङटार विमानस्थलमा मौसममा सुधार आएपछि तीन सातापछि उडान भएको छ । आज बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भरेको हो ।

विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि गत माघ १४ गतेपछि तुम्लिङटारमा उडान अवरुद्ध भएको थियो । विमानस्थलको धावनमार्ग छेउछाउका डाँडामा ढाकिएको तुवाँलो केही हटेपछि काठमाडौं–तुम्लिङटार उडान भएको विमानस्थल कार्यालयले जनाएको छ ।  

तुम्लिङटारमा पछिल्लो समय बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भर्दै आएको छ । बाक्लो तुवाँलो हट्दै गएपछि उडान सञ्चालन गरिएको नागरिक उड्डयन कार्यालय तुम्लिङटारका प्रमुख नवराज दाहालले बताए ।  

उनका अनुसार विमानस्थल वरिपरि कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी भएपछि उडान अनुमति दिइएको हो । तुवाँलो बढ्दा यसअघि विमानस्थलमा पाँच सय मिटर मात्रै भिजिबिलिटी थियो । तुवाँलो केही हटे पनि पूर्णरुपमा मौसम भने खुलेको छैन ।  
 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update