
काठमाडौं - नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्त्वपूर्ण दिनको सम्झनामा बुधबार नवौँ निर्वाचन दिवस मनाइँदैछ । मुलुकमा प्रजातन्त्र स्थापनाको आठ वर्षपछि विसं २०१५ फागुन ७ गते आमनिर्वाचन भएको थियो ।
संवैधानिक अङ्गका रूपमा रहेको निर्वाचन आयोगले स्थानीय तहदेखि राष्ट्रपतिसम्मको निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा गराउँदै आएको छ । आयोगले वर्तमान संविधान जारी भएपछि दुई पटक प्रतिनिधिसभा तथा प्रदेशसभा र स्थानीय तहको आवधिक निर्वाचन, तीन पटक राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभा सदस्यको विभिन्न निर्वाचन र उपनिर्वाचन सम्पन्न गरिसकेको छ ।
उक्त निर्वाचनमार्फत् जनप्रतिनिधि निर्वाचित भई जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक संघीय शासन प्रणालीको सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह भइरहेको छ । इतिहासका सबै कालखण्ड र राजनीतिक परिवर्तनका हरेक नयाँ उपलब्धिमा मुलुकले अङ्गीकार गरेको शासन व्यवस्था र निर्वाचन प्रणालीलाई संविधान र कानुन बमोजिम निर्वाचनको माध्यमबाट वैधानिकता प्रदान गर्ने संवैधानिक दायित्व पूरा गर्दै आइरहेको छ ।
यसवर्ष ‘निर्वाचनको प्रभावकारिता : आमनागरिकको सहभागिता’ भन्ने मूल नाराका साथ आयोगले बुधबार कान्तिपथस्थित आयोग परिसरमा मूल समारोह आयोजना गर्दै छ । दिवसका अवसरमा शुभकामना दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक एवम् कानुनी दायित्व पूरा गर्न आयोग थप क्रियाशील हुनेछ भन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।