
सिन्धुपाल्चोक - २००६ साल फागुन ६ गते स्थापना भएको नवलपुर माध्यमिक विद्यालयले आफ्नो ७६ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ। विद्यालयको प्राङ्गणमा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर तामाङको सभापतित्वमा वार्षिकोत्सव मनाएको हो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले गाउँपालिकाको एकतिहाई बजेट शिक्षामा लगानी गरेको बताए । शिक्षाको क्षेत्रमा एकपछी अर्को सफलता प्राप्त गर्दै नवलपुर मावि अघि बढेकोमा उनले खुशी व्यक्त गरे। गाउँपालिका भित्रको शैक्षिक क्षेत्र लाई उकास्न थुप्रै संघ संस्थाले सहयोग गरेको बताउँदै अध्यक्ष नेपालले विद्यालयको भौतिक व्यवस्थापन र आर्थिक व्यवस्थापन हिसाबले नवलपुर माविलाई नमुना माध्यमिक विद्यालय अघि बढाउन ४ ओटा पक्ष चाहिने उनले बताए। दक्ष शिक्षा, कुशल व्यवस्थापन, जागरुक अभिभावक र अनुशासित विद्यार्थी यो ४ ओटा पक्ष भएमा मात्रै नमुना विद्यालय बन्ने उनले बताए।
यता नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव एवम् महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले आफ्नो औपचारिक र प्रारम्भिक शिक्षा यसै विद्यालयबाट भएको अवगत गराउँदै यो विद्यालयप्रति गहिरो प्रेम र अद्भुत माया भएको बताए। विद्यालयको स्तरोन्नति गराउनको निमित्त स्थानीय सरकार र विद्यालय व्यवस्थापन समिति र शिक्षकहरू महत्त्वपूर्ण भूमिका रहने बताए। सबैको साथ र सहयोगले शैक्षिक गतिविधिमा टेवा पुग्ने उनले बताए । सबैको साथ सहयोग भएमा राम्रो शिक्षा र गुणस्तरीय शिक्षाले राम्रो विद्यार्थी जन्मन मद्दत पुग्ने उनले बताए। पठनपाठनलाई समृद्धि बनाउने राम्रो विद्यार्थी उत्पादन गर्ने हो भने सबैको साथ सहयोगको आवश्यक रहने उनको तर्क थियो।
विद्यार्थी सङ्ख्या अनुसार दक्ष शिक्षकहरू पदपूर्ति गर्न सकेमा मात्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने बताउँदै दक्ष शिक्षकहरूको पदपूर्ति गर्न स्थानीय सरकार लाग्नुपर्ने उनले बताए। तामाङले मुलुक सङ्घीयतामा जानू भन्दा अघि आफ्नो पहलमा पनि विद्यालयको भौतिक संरचना बनाउन आफूले सहयोग गरेको बताए । आफूले आफ्नो बोली बिक्ने बेलामा विद्यालयको संरचना निर्माण गर्न पहलकदमी चालेको बताए । साथै तामाङले विद्यालय अक्षयकोषमा एघार हजार एक सय एघार सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत जनाए।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै इन्द्रावती गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष क्षेत्र बहादुर तामाङले आफू वडाध्यक्षमा निर्वाचित भएपछि वडामा सीमित स्रोत साधन भएपनि गुणस्तरीय शिक्षा प्रदान गर्न बजेट कार्यक्रमको व्यवस्था गरेको बताउँदै पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता आधारभुत विद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिता गरेको विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्रीको अभावलाई नियाल्दै वडा ४ ले बजेट मिलाएको बताए।्
वडाध्यक्ष तामाङले शिक्षाको क्षेत्रमा ८२/८३ को बजेट पनि छलफल गरेर ल्याउने प्रतिबद्धता जनाए। ४ को सबै विद्यालयका प्रधानाध्यापकसँग सल्लाह गरेर शिक्षा क्षेत्रमा बजेट छुट्याउने बताए। वडाध्यक्ष तामाङले यस विद्यालयको पूर्व विद्यार्थीहरूको भेला गर्नुपर्ने माग राखे । कोही राजनीतिक क्षेत्र, प्रशासन क्षेत्रसहित विभिन्न क्षेत्रमा छरिएर रहेका यस विद्यालयका पूर्व विद्यार्थीलाई खोजेर पूर्व विद्यार्थी समाज बनाउनु पर्ने उनको माग थियो।
शैक्षिक सुधारको लागि आफूले सक्ने सहयोग गर्ने बताउँदै उनले विद्यालयप्रति अभिभावकको तदारूकता कम देखिएकोमा चिन्ता व्यक्त गरे। अभिभावकहरू कार्यक्रममा उपस्थित हुनुपर्यो आफ्नो बच्चाले घरमा गएर पढ्छ कि पढ्दैन त्यसमा पनि ध्यान दिनुपर्ने उनले बताए।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेकपा एमाले इन्द्रावती गाउँपालिकाका प्रतिनिधि गोविन्द कोइरालाले अस्वस्थ विद्यार्थी नभई स्वस्थ विद्यार्थी उत्पादन गर्न विद्यालयले जोड दिनुपर्ने बताए।
यता नेपाली कांग्रेस इन्द्रावती गाउँपालिका सभापति जीवन कुमार थापाले विद्यालयलाई खेलकुद सामाग्री वितरण गर्दै विद्यालय बगैँचा भएको बताउँदै यहाँ सबै फूलहरू फुल्नुपर्ने बताए। सभापति मगरले कस्तो खाले समुदाय कस्तो खाले पहिचान बनाउने यी सबै कुरा विद्यालयको प्रारम्भिक शिक्षाले बताउने भएकोले विद्यालय जीवनको सिकाइको थलो भएको बताए। विद्यार्थी क्षमता के मा छ त्यसमै शिक्षकहरूले विद्यार्थीलाई तिखार्न पनि अनुरोध गरे।
यता शुभकामना मन्तव्य राख्दै माओवादी केन्द्र इन्द्रावती गाउँपालिकाका अध्यक्ष देवेन्द्र दाहालले आफू निम्न मावि कक्षा ६ बाट यहाँ पढेको बताउँदै आफूलाई यहाँसम्म पुर्याउने यही विद्यालय भएको बताए । यो विद्यालयमा पढेका विद्यार्थीहरू कहाँ कता छन् खोज्नुपर्छ डाटा समावेश गर्नु भन्दै पूर्व विद्यार्थी मंच बनाउन विद्यालय प्रशासन लाई अनुरोध गरे।
दाहालले विद्यालयको शैक्षिक उन्नति प्रगतिको लागि आफ्नो सहयोग सदैव रहने समेत उनले बताए । विद्यार्थीको शैक्षिक आचरणमा सुधार हुनुपर्ने बताउँदै उनले शिक्षकहरूको अध्यापन गराउने शैली परिवर्तन हुन जरुरी रहेको बताए।
दोस्रो वडाध्यक्षकप डिजिटल हाजिरीजवाफमा प्रथम द्वितीय र तृतीय हुनेलाई पुरस्कार वितरण
वार्षिकोत्सवकै अवसर पारेर नवलपुर माध्यमिक विद्यालयले हिजो आयोजना गरेको दोस्रो वडाध्यक्ष कप आधारभूत (१-५) डिजिटल हाजिरी जबाफ प्रतियोगितामा प्रथम हुन सफल श्री भिमसेन आधारभूत विद्यालय त्यस्तै दोस्रो हुन सफल श्री टाकुरे आधारभूत विद्यालय र तेस्रो हुन सफल नवलपुर माध्यमिक विद्यालयलाई शिल्ड , मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमकै अवसरमा नवलपुर माध्यमिक विद्यालयबाट २०८० सालको एसइई परीक्षाामा उत्कृष्ट नतिजा ल्याउन सफल सुनिता तामाङलाई हवलसिङ कान्छी माया पुरस्कार स्मृति अक्षयकोषबाट नगद १० हजार सहित सम्मान गरिएको थियो ।
हवलसिङ कान्छीमाया पुरस्कार कांग्रेस बागमती प्रदेश प्रतिनिधि एवम् विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष फुर्पा तामाङले वितरण गरेका हुन् । त्यस्तै स्वर्गीय धन बहादुर खोखाली स्मृति अक्षयकोष बाट कक्षा १०कि प्रथम सुशिला तामाङलाई तीन हजार नगद सहित सम्मान गरिएको थियो।
विद्यालयको नाममा अक्षयकोष स्थापना हुँदै
कार्यक्रमको अवसरमा समर्पण छात्रवृत्ति तथा पुरस्कार अक्षयकोष स्थापनाको पनि घोषणा गरिएको छ । जुन कोषको लागि विभिन्न व्यक्तिहरूबाट हालसम्म १ लाख ३६ हजारको प्रतिबद्धता आएको र ४० हजार रुपैयाँ जम्मा भइसकेको विद्यालयका शिक्षिका चित्र कुमारी खोखालीले जानकारी गराउँदै आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्ने र विद्यालयमा भएका अतिरिक्त क्रियाकलाप संचालन र पुरस्कार वितरणमा प्रयोग गरिने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिएको उनले बताए।
विद्यालयका प्रधानाध्यापक सुरेन्द्रमान श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन विद्यालयका लेखापाल बिमरास तामाङ प्रस्तुत गरेका थिए।
विद्यालय व्यवस्थापन समितिका सदस्य राजु तामाङले स्वागत मन्तव्य राखेको कार्यक्रममा इन्द्रावती गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष श्याम बहादुर गिरी वडा नम्बर ८ का वडाध्यक्ष डिल कुमार श्रेष्ठ लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो।