-1739869861.png)
काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता नेता डा शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैलीमाथि गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
मंगलबार काठमाडौंमा नेपाल प्रेस युनियन शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै कोइरालाले आफूले पहल गरेर बनेको वर्तमान सरकारले लोकतन्त्रलाई अप्ठ्यारोमा पारेको आरोप लगाउँदै सरकारको कार्यशैलीमाथि गम्भीर असन्तुष्टि व्यक्त गरेका हुन् । संसद छलेर अध्यादेश ल्याउने सरकारको कामले लोकतन्त्र अप्ठेरोमा परेको उनले बताए ।
उनले हतार हतारमा अध्यादेश ल्याउनुपर्ने कारणको जबाफ सरकारले दिनुपर्ने धारणा राखे । त्यस्तै कोइरालाले दुई दलीय संयन्त्र बनाएर संयन्त्रले सरकारले चलाउने कुरा कम्युनिस्ट देशमा मात्र हुने भन्दै संयन्त्र प्रति समेत असन्तुष्टि जनाए ।
वडामा पनि संयन्त्र बनाएर चलाउने दुष्प्रयास भएको उल्लेख गर्दै कोइरालाले बिस्तारै सरकारलाई एमालेकरण गर्न खोजिएको तर्क गरे ।
उनले घुस दिनेलाई समात्ने र घुस लिने छोड्ने काम भइरहेको भन्दै महान्याधिवक्ता रमेश बडालको कार्यशैलीमाथि पनि प्रश्न उठाए ।
उनले कांग्रेसका सरकारका बाहिर रहेका नेताहरूले सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता देखिएको बताए । कोइरालाले सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्दै परिमार्जन गरेरमात्रै अघि बढाउनुपर्ने धारणा राखे ।