
काठमाडौं - सशस्त्र प्रहरी बल नेपालको युएन मिसनमा पठाइ दिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–२ बतासेका दिनेश सापकोटाले सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरूलाई युएन मिसनमा पठाइ दिने विश्वास तथा प्रलोभन देखाई रकम ठगी गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।
सो सूचना प्राप्त हुनासाथ यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले सापकोटालाई सोमवार दिउँसो ३ बजे काठमाण्डौ दक्षिणकाली–०५ फर्पिङबाट पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ ।
प्रहरीका अनुसार सशस्त्र प्रहरी बलमा कार्यरत ७ जना प्रहरी कर्मचारीहरूबाट मिसनमा पठाउने भन्दै रकम लिएको खुल्न आएको छ । उनी विगतमा चोरी तथा डाँका सम्बन्धी कसुर, बैकिंङ कसुर, ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) लगायतका कसूरमा पक्राउ परी कानुनी कारबाही भएका व्यक्ति भएको पनि खुल्न आएको छ ।