Harsamaya
सरकार हाम्रो कहिले हुन्छ ?
ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौं - गत माघमा कमलपोखरीको एक मम पसलमा ग्याँस लिक भएर आगलागी हुँदा ११ जना घाइते भए । तीमध्ये हालसम्म चार जनाको मृत्यु भइसकेको छ । चिकित्सकका अनुसार उनीहरू ११ जनानै गम्भीर बिरामी थिए । आगोले उनीहरूको शरीरको २१ देखि ६० प्रतिशतसम्म जलेको थियो । सबै युवा अवस्था (१८-२८ वर्ष) का उनीहरूको उपचार कीर्तिपुर बर्न अस्पतालमा भइरहेको छ । तर उनीहरूको उपचारमा सरकारले न दुख व्यक्त गर्यो न उपचारका लागि निर्देशन नै दियो ।

११ जना आगलागीबाट घाइते हुँदा यो देशका कुनै पनि राजनीतिज्ञलाई छोएन । न त छोयो सरकारलाई नै ।  उनीहरूले अस्पतालसम्म जान एम्बुलेन्ससम्म पाएनन् ।  पानी बोक्ने गाडीमा तत्काल अस्पताल लगिएको थियो । शान्दार मम आगलागी किन भयो सरकारले अध्ययन गर्न समेत जरुरी ठानेन । राज्यका उपल्लो निकायका मानिसहरू उनीहरूको स्वास्थ्यवस्था बुझ्न अस्पतालसम्म जान सकेनन् । यो घटनामा राज्य दुखी भएन । यानेकी सरकार दुखी भएन । न उनीहरूको उपचारका लागि सरकारले कुनै प्रतिबद्धता नै गर्यो । 

स्वास्थ्य मन्त्री प्रदीप पौडेल अस्पताल पुगे तर अरू कुनै राज्यका रखवालाहरूले कीर्तिपुर पुग्न जरुरी ठानेनन् । न गृहमन्त्रीले तत्काल जलन पीडितको उद्वार गर्न सके न  छानबिन समिति नै गठन गरे । तर, गत शनिबार पोखरा भ्रमण वर्षको कार्यक्रम उद्घाटनका क्रममा बेलुन विस्फोट भएर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य जल्दा राज्यनै जले जस्तो भयो । उनीहरुको दुखमा राज्य नै दुखी भयो । उनीहरूलाई तत्काल अस्पताल पुर्याइयो । प्राथमिक उपचार गरियो अनि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो । 

उनीहरूको पनि कीर्तिपुर बर्न अस्पतालमा नै उपचार भइरहेको छ । तर अहिले भीभीआइपीको अस्पतालमा लाइन छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू र नेताहरू अस्पतालमा पुगिरहेका छन् । बेलुन विस्फोट घटनाबारे गृहमन्त्री रमेश लेखकले छानबिन समिति पनि गठन गरेका छन् । उनीहरूको उपचारका लागि वरिष्ठ चिकित्सकहरू खटिएका छन् । 

शरिरको ५/६ प्रतिशत जलेका मन्त्री र मेयरको उपचारमा सिंगो राज्य लागेको छ । तर ग्याँस विस्फोटका घटनामा घाइते भएकाको उपचारबारे न यो सरकारलाई मतलब छ न प्रतिपक्षलाई नै । उनीहरूको उपचार र घटनाको छानबिनका लागि सरकार र प्रतिपक्ष कसैले आवाज उठाएनन् ।  राज्य एकै भएर किन उपचारमा यस्तो भिन्नता ? किन यस्तो भेदभाव ? के सरकार ठूला बडाको मात्रै हो ? ठूलाबडा जल्दामात्रै सरकारलाई पोल्छ ? 

जनता जल्दा मतलब नगर्ने सरकारको अहिले निद हराम भएको छ । ६० प्रतिशत जलेकाको उपचारबारे चु सम्म नगरेको सरकार अहिले सडकदेखि संसदसम्म हल्लाखल्लामा उत्रिएको छ । राज्यबाट पाउने सेवा सुविधा सबै सरकारका मन्त्रीहरूका लागि मात्रै भएको छ । गरीब जनताहरूलाई कानुन, नियम देखाएर तर्साउने काम गरिन्छ । एकै प्रकृतिका घटनामा एउटालाई पाखा अर्कोलाई काखा गर्नु कतिको न्यायसंगत होला ? 

जसरी मन्त्रीहरूको उपचारमा सरकार लागेको छ त्यसैगरी सर्वसाधारणको उपचारमा सरकार कहिले सिरियस होला ? जनताको करबाट चलेर जनताकै लागि हेय दृष्टि राख्नुले सरकारप्रति जन भरोसा बढ्ने हैन घट्ने देखिन्छ । त्यसैले बेलैमा सरकारले जनचाहना बुझ्न जरुरी छ । 

मन्त्रीलाई पोल्दा होस् या जनता दुवैलाई पोल्दा सरकारलाई पोल्नुपर्छ । मन्त्री रूदा होस् या जनता दुवैको आँसु सरकारले पुछ्नुपर्छ । दुख पीडामा आँसु सबैको उस्तै आउँछ र पीडा जे कारणले भएको होस् उस्तै दुख्छ । दुखाइमा सरकारले मलहम लगाउने हो नुन छर्कने हैन । 

जसरी मन्त्रीको उपचारमा सिंगो राज्य लाग्यो त्यसैगरी मम घटनाका पीडितहरूको उपचारमा सिंगो राज्य लागेको भए आज सरकारको वाहवाही हुनेथियो । तर सरकारले गरेको द्वैध चरित्रले जनताको मन अझ दुखेको छ । पीडा अझ बल्झेको छ । सरकार हाम्रो कहिले हुन्छ होला ? जलन पीडितहरूको प्रश्न छ । आम जनताको प्रश्न छ ।

 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update