
काठमाडौं - सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका निवर्तमान मेयर निमफुञ्जो शेर्पाविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा जाहेरी परेको छ । जुरे क्रसरका कर्मचारीलाई लछारपछार गरेको भन्दै उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा जाहेरी परेको हो ।
क्रसरका साइड इन्चार्ज पीडित ठाकुरध्वज खड्काले आइतबार शेर्पाविरुद्ध जाहेरी दिएका हुन् । फागुन ३ गते शेर्पा विक्रम श्रेष्ठ र रोशन खत्रीसहित क्रसरमा आइ खड्कालाई १०/१५ मुक्का हानी ढुंगाले हान्न खोज्दा खड्काले भागेर ज्यान जोगाएको जाहेरीमा उल्लेख छ । उनले आफ्नो सुरक्षाा गरिदिनसमेत प्रशासनलाई अनुरोध गरेका छन् ।
के थियो घटनाको विवरण ?
म जाहेरवाला ठाकुरध्वज खड्का बाह्रविसे नगरपालिका वडा नं. ९, जुरे स्थित क्रशरमा साईड इन्चार्जको रूपमा कार्यरत छु । २०८१/११/०३ गते अं. १३:१५ बजेको समयमा गाडीमा आई जुरे स्थित क्रसरमा निमफुन्जो शेर्पा र निजसँगै आएका विक्रम श्रेष्ठ र रोशन खत्री समेत विना अनुमति प्रवेश गरी क्रशर उद्योगको लेखा शाखामा रहेको कम्पनीको भ्याट बिल (विजक नं. ३५५१-३६००) खोसेर लगि क्रसरको कार्यालयमा ताला लगएको र सँगै आएका रोशन खत्रीले जेसिवि अपरेटर साङदोर्जे तामाङलाई अपशब्द बोली क्रसरको बाटो छेक्न लगाई जेसिवि र टिप्पर समेतको चावी खोसी लगेका थिए । मिति २०८१/११/०४ गते प्र.क.नं. ६ (क) मा उल्लेखित समयमा म जुरे क्रशर नजिक विदुर पराजुलीको घर भित्र चिया खाई बसिरहेको थिएँ । विपक्षी निमफन्जो शेर्पाले मलाई फोन गरी बाहिर बोलाई जुरे क्रसर अगाडिको मानिस आगमन भईरहको स्थानमा अरनिको राजमार्गको सार्वजानिक स्थलमा विना कारण अपशब्द बोली मलाई एक्काशी हातको मुक्काले मेरो टाउकोमा १५/२० मुक्का प्रहार गरी ज्यान लिने नियतले ढुङ्गा उचाली हान्न खोज्दा म भागी ज्यान बचाउन सफल भएँ । प्रत्यक्षदर्शी विदुर पराजुलीले घरको दोस्रो तलाबाट देखि नकुट भनि छुट्याउन खोज्दा तँलाई पनि मार्छ भनि विदुर पुराजुलीको घरको दोस्रो तलामा ठूलो ढुङ्गा लिई गई निजलाई समेत हान्न खोज्दा निजले छल्दा निज विदुर पराजुलीको घरको सिँढीमा लागेको र अहिले विवाहमा जानु छ, दिउँसो केटाहरू सहित आएर तँलाई र विदुर पराजुली सहितलाई काट्छु, मार्छु भनि गएको हुँदा निज विपक्षीबाट म अत्यन्तै पीडित छु । प्रत्यक्षदर्शी सहितलाई सोधबुझ गरी घटनाको यथार्थ छानविन र अनुसन्धान गरी दोषी उल्लेखित व्यक्तिहरूलाई कडा भन्दा कडा कानूनी कार्वाही गरी पाउँ । हामीहरूको जिउज्यानको सुरक्षा गरी शान्ति सुरक्षा कायम गरी पाउँ ।