Harsamaya
तेह्रथुममा मुटु परीक्षण शिविरबाट ८७० जना लाभान्वित
सांकेतिक तस्वीर: हर समय/Har Samaya

तेह्रथुम - सदरमुकाम म्याङलुङमा सञ्चालित निःशुल्क मुटु परीक्षण शिविरबाट आठ सय ७० जना लाभान्वित भएका छन् । शिविरमा मुटुसम्बन्धी परीक्षण, मधुमेह, उच्च रक्तचापलगायतको परीक्षण गरिएको थियो । जिल्लाका छ वटै पालिकाबाट मुटुको समस्या भएका  बिरामी परीक्षणका लागि आएका थिए। 

लायन्स क्लब अफ काठमाडौँ बुद्ध युनिभर्सलको आयोजना र सहिद गङ्गालाल हृदय केन्द्र काठमाडौँको प्राविधिक सहयोग तथा सांसद सीता गुरुङ, म्याङलुङ नगरपालिका, नबिल बैंकसहित जिल्लास्थित विभिन्न संस्थाको समन्वयमा निःशुल्क मुटु परीक्षण शिविर सम्पन्न भएको हो।

शिविरमा परीक्षण गरिएकाहरू थप उपचार गर्नुपर्ने बिरामीलाई गङ्गालाल हृदय केन्द्र काठमाडौँमा निःशुल्क उपचार गरिने गङ्गालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डा. रवि मल्लले बताए। बिरामीको यातायातको शुल्क भने जयन्ती मेमोरियल ट्रष्टले बेहोर्ने उनले बताए । शिविरमा मुटुरोग विशेषज्ञ डा दीपक लिम्बूसहितको १८ विशेषज्ञ चिकित्सकको टोलीले शिविरमा सेवा प्रदान गरेका थिए।

तेह्रथुमबाट मुटुसम्बन्धी विशेषज्ञ सेवा लिन राजधानी तथा सुविधासम्पन्न अस्पताल जानुपर्ने अवस्था छ । जसका लागि पैसा र समय पनि खर्चिलो भएकाले सबैको पहुँचमा नहुने भएकाले तेह्रथुमजस्तो विकट पूर्वी पहाडी जिल्लामा मुटुसम्बन्धी समस्या भएकालाई सेवा दिने हेतुले शिविर सञ्चालन गरिएको उनले बताए।

म्याङलुङ नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले मुटु परीक्षणका लागि तेह्रथुमजस्तो दुर्गम जिल्लामा सबै पक्षको समन्वयमा ल्याउन सफल भएकोप्रति आभार व्यक्त गरे। सांसद गुरुङले तेह्रथुम जिल्लामा मुटुको स्वास्थ्य शिविर लामो समयको प्रयासपछि ल्याउन सफल भएको बताइन्।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update