Harsamaya
उपप्रधानमन्त्री पौडेल र प्रमुख आचार्यलाई काठमाडौँ लगियो
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा स्थानान्तरण गरिएको छ।

काठमाडौं - पोखरा पर्यटन वर्ष घोषणा समारोहमा बेलुन पड्किँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

थप उपचारका लागि काठमाडौं उड्नै लाग्दाको तस्बिरमा अर्थमन्त्री पौडेलको बायाँ हातमा सेतो पट्टी (ब्यान्डेज) बेरिएको देखिएको छ । उनको अनुहारमा पनि आयोगले पोलिएको तस्बिरमा देखिन्छ । महानगर प्रमुख आचार्यको अनुहारमा पनि आगोले पोलिएको छ ।

घोषणा समारोहमा बेलुन पड्किँदा घाइते भएका दुवै जना लिएर सिम्रिक एयरको हेलिकप्टर काठमाडौंका लागि उडिसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।

उनका अनुसार घाइते दुवै जनालाई काठमाडौंको कीर्तिपुरस्थित बर्न हस्पिटलमा थप उपचारका लागि ल्याइएको हो । प्रमुख अतिथिका रूपमा पौडेलले स्विच थिचेर बत्ती बालेपछि बेलुन उडाउने क्रममा बिजुलीको बत्तीको झिल्काले बेलुन पड्किएपछि दुवै जना घाइते भएका थिए ।

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update