Harsamaya
६ सय ३५ जना बालबालिका साइबर दुर्व्यवहारको शिकार
सांकेतिक तस्वीर: हर समय/Har Samaya

 काठमाडौं – इन्टरनेटको विकाससँगै अनलाइनबाट हुने दुर्व्यवहारका घटना वृद्धि भएका छन्। 

नेपाल प्रहरीको साइबर ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा ६ सय ३५ जना बालबालिका साइबर दुर्व्यवहारमा परेको भनी उजुरी दर्ता भएका थिए।

जसमा दुई सय ५३ बालक थिए भने तीन सय ८२ बालिका थिए। त्यसैगरी १८ वर्षभन्दा माथिका आठ हजार सात सय ४५ जना महिलाले दुर्व्यवहार भोगेको तथ्यांक छ। नेपालमा भएका ८१ प्रतिशतभन्दा बढी अनलाइन दुर्व्यवहारका घटना फेसबुकमार्फत हुने गरेको तथ्यांकले देखाएको छ।

भ्वाइस अफ चिल्ड्रेन र केएनएच जर्मनीले पाँच सय १४ जना बालबालिका, परिवार तथा बालसंरक्षण र बालन्यायसँग सम्बन्धित सरोकारवालासँग गरेको अध्ययनअनुसार १३ वर्षदेखि १८ वर्ष उमेर समूहका (५५ प्रतिशत बालिका र ४५ प्रतिशत बालक) मध्ये ९७ प्रतिशत इन्टरनेटको पहुँचमा छन्।

जसमा बालिकामध्ये ३८ दशमलव ६० प्रतिशतले यौनजन्य सन्देशहरु, ३४ प्रतिशतले अश्लील तस्विरहरू, १३ दशमलव ६० प्रतिशतले अश्लील लिंक र भिडियोहरू तथा ६ दशमलव ८० प्रतिशतले अनलाइनबाट अन्य दुर्व्यवहार र शोषणमा परेको बताएका छन्।

बालकहरुमा ३२ दशमलव ३० प्रतिशतले यौनजन्य सन्देशहरु, २९ दशमलव २० प्रतिशतले अश्लील तस्बिरहरू, १५ दशमलव ४० प्रतिशतले अश्लील लिंक र भिडियोहरु आएको तथा ६ दशमलव २० प्रतिशतले अनलाइनबाट अन्य दुर्व्यवहार र शोषणमा परेको बताएका छन्।

अध्ययनमा सहभागी अभिभावकमध्ये ९९ प्रतिशतले आफूहरु इन्टरनेटको सुविधा भएको, अनलाइन बालयौन दुर्व्यवहारबारे जानकारी भए पनि कानुनी प्रावधानहरु, उजुरी प्रक्रिया, इन्टरनेट सेवा प्रदायकको भूमिका, डिजिटल साक्षरता, अभिभावकीय शिक्षाजस्ता विषयमा जानकारी नभएको पाइएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update