Harsamaya
क्रान्तिको उज्यालोमा अस्ताएका नेता पोष्ट बहादुर बोगटीको अविस्मरणीय गाथा
ग्राफिक्स : हर समय/Har Samaya

भनिन्छ नि राम्रो मान्छे भगवानलाई पनि चाहिन्छ। उनीहरूको अल्पायुमै निधन हुन्छ। मानवहितका लागि राम्रो काम गरिरहेकाहरू छिट्टै भगवानको प्यारा हुन्छन्। नेपाली राजनीतिमा पनि त्यस्ता धेरै राम्रा मान्छेहरू छन् जो छिट्टै भगवानको प्यारा भएका छन्। कोही मारिएका छन् कोही कालगतिले मरेका छन्। त्यस्तै राम्रा मान्छेको सूचीमा पर्छन् पोष्टबहादुर बोगटी।

पोस्ट बहादुर बोगटी कुनै बेलाको चर्चित नाम हो। राजनीतिज्ञ तथा पूर्वमन्त्रीसमेत रहेका उनी देशभर नै चर्चित थिए। पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट -३ बाट प्रत्यक्ष तर्फ एकीकृत नेकपा माओवादीबाट विजयी भएका उनी जनताले रुचाएका नेता थिए। बोगटीको जन्म नुवाकोटको तुप्चे गाविसको अक्करे भित्रीनीटारमा भएको थियो। बुवा भैरव बहादुर बोगटी र आमा लेक कुमारी बोगटीको कोखबाट २०१० साउन ३ गते उनको जन्म भएको हो। उनका बुबाका पाँच वटी श्रीमती थिए। बोगटी साँहिली पटि्टका जेठा छोरा थिए। 

Posta-Bahadur-bogati-1-1739428498.png

 

पोष्ट बहादुर बोगटी उनकी पत्नी राममाया बाेगटी र छाेराछाेरी प्रभा, प्रतिभा र रवि।

नुवाकोटलाई नेतै नेता भएको जिल्ला भनिन्छ । यहाँ देशका माथिल्लो तहमा पुगेका धेरै नेताहरू छन् । धेरै नेताले सत्ताको बागडोर समाते । देशको ढुकुटी चलाए । तर, काठमाडौंसँगै जोडिएको यो जिल्लाले विकासको न्यानो अनुभूति गर्न पाएन । भनौं विकासले नुवाकोट रोजेन । नुवाकोट सधैं बतीमुनिको अँध्यारो भयो । विकासले नुवाकोट नरोजेपनि भ्रष्टाचार र अनियमिततामा यहाँका नेताहरूको नाम भने मुछिन थाल्यो। धेरै नेताहरू भ्रष्टाचारले गन्हाउँदै गर्दा बोगटीले भने आफ्नो घरजग्गा स्थानीय चण्डेश्वरी माध्यमिक विद्यालयलाई चन्दा दिएर २०५२ सालमै चर्चा बटुलेको थिए। 

युवावस्थामा बोगटीलाई भारतीय सेना हुने सपनाले भारत डोर्यायो। उनी भारतका गल्ली गल्ली भौँतारिए । अनगिन्ती दुःख झेले। दुखका सागरहरूले भारतीय सेना बन्ने उनको सपनाको मोह भंग गरिदियो। तर, जीवनले राहत दिन मानेन। उनले अनगिन्ती दुख र हण्डर खाए।

उनी नेपाल फर्के र  त्रिशूलीमा भेडा फार्म, माछा पालन र घरेलु उद्योगमा काम गर्न थाले। परिवारको पेट पाल्न मंसिरमा काटेको धान सिधैँ साहुको ऋण तिर्न जान्थ्यो, तर पुरानो ऋणको भार उस्तै हुन्थ्यो। राजनीतिमा होमिएपछि उनले संघर्षका बीचमा पनि बाँकी ऋण तिर्न निरन्तर प्रयास गरिरहे। 

बोगटीलाई पटक-पटक समयले परीक्षा लिइरह्यो। अंशमा पाएको जमिन त्रिशूली हाइड्रोपावर परियोजनाको अधिग्रहणमा परेपछि बोगटी परिवार थप संकटमा पर्‍यो। तर उनी डगमगाएनन् निरन्तर कर्ममा लागिरहे। कर्मलाई पूजा गरिरहे। 

उनको व्यक्तिगत जीवन पनि उतार-चढावले भरिएको थियो । पहिलो विवाह टुटेपछि उनले उषा (राममाया) सँग दोस्रो विवाह गरेका थिए । राजनीतिमा क्रियाशील उषा बोगटीकी जीवनसंगी मात्र थिइनन्, उनीसंगै कदम चाल्ने सहयात्री बनिदिइन् । 

सामान्य किसान परिवारबाट राजनीतिमा आएका उनी असाधारण क्षमता भएका नेता थिए । ८ कक्षासम्म मात्र औपचारिक शिक्षा हासिल गरेका बोगटी पार्टी भित्र सहकारिता र समाजवादको ज्ञाता मानिन्छन् । जनयुद्वताका लडाकू कम पर्दा पार्टीले आफ्नो परिवारको सदस्यलाई राजनीतिकरण गर्नुपर्ने नीति बनाएको थियो । सोही नीति अनुसार उनले आफ्नो क्याम्पस पढ्दै गरेका छोरालाई जनयुद्वमा ल्याए । छोरा रवि बोगटीको विद्रोह कै क्रममा हत्या भयो। २०६९ साल असार ७ गते धादिङको सत्यदेवी गाविसमा नेपाली सेनाको आक्रमणमा उनको निधन भयो । 

Posta-Bahadur-bogati-2-1739428498.png

 पोष्टबहादुरका छोरा रवि बोगटी ।

जनयुद्धमा आफ्नो सन्तान गुमाउने बोगटी नै एकमात्र ठूला नेता हुन् । हामी हजारको नोट हराउँदा चिन्तित र विचलित हुन्छौं तर, छोरा गुमाउँदा पनि उनी विचलित भएनन् । देशका खातिर छोराको बलिदानी दिए भन्दै उनी निरन्तर जनुयुद्वमा सक्रिय भए । उनको यो अतुलनीय त्यागले माओवादीबीच उनको उच्च सम्मान आज पनि उतिकै छ ।  जनयुद्वमा छोरा गुमाएपछि त्यसको प्रतिस्थापनमा उनले आफ्ना दुई छोरी खडा गरे । उनले आफ्ना दुई छोरी प्रतिभा, प्रभा र श्रीमती राममाया बोगटीलाई पार्टीको काममा हिँडाएका थिए । 

पञ्चायतकालदेखि नै वामपन्थी विचारधाराका पोष्टबहादुर बोगटी एकजना प्रतिबद्ध राजनीतिज्ञ मात्र होइन, देशभक्तिको उत्कृष्ट नमुना पनि थिए। विचारमा अडिग र व्यवहारमा सरल बोगटी आफ्नो वैचारिक धारमा मात्र सीमित नभई, गैर-माओवादीहरूमाझ पनि मिलनसार र लोकप्रिय नेताका रूपमा स्थापित भए।

Posta-Bahadur-bogati-3-1739428505.png

परिवारका सदस्यका साथमा बाेगटी। 

‘बाहुनले हलो जोत्नुहुँदैन’ भन्ने सामाजिक बन्धनका बीच जन्मेका पोष्टबहादुर बोगटीले नुवाकोटमा त्यसै परम्परालाई तोड्ने साहस गरे। उनी बाहुनले हलो जोत्ने अभियानका अगुवा मात्र बनेनन्, समाजमा श्रमको सम्मान स्थापित गर्ने क्रान्ति नायक पनि बने। 

पञ्चायती शासनकालमै उनले गाउँमा क्लब र पुस्तकालयहरू स्थापना गराउँदै शिक्षाको ज्योति फैलाए। बोगटीको संघर्ष केवल राजनीतिक मात्र थिएन, त्यो सामाजिक परिवर्तनको एउटा बलियो कदम पनि थियो। समाजसेवाबाट राजनीतिमा पाइला टेकेका बोगटीले सधैं राजनीतिलाई अवसर होइन, दायित्वको रूपमा परिभाषित गरे। ‘राजनीति भनेको देश र जनताको सेवा गर्ने माध्यम हो, स्वार्थपूर्तिको बाटो होइन,’ भन्ने मान्यता बोगटीको जीवन दर्शनको मेरुदण्ड बन्यो। उनको  जीवनशैलीले राजनीतिमा नैतिकता र निष्ठाको अभावलाई चुनौती दियो। विचार र व्यवहारको यो सामञ्जस्यले पोष्टबहादुर बोगटीलाई राजनीतिका ती दुर्लभ पात्रहरूमध्ये एक बनायो । जसले स्वार्थको परिधिलाई तोडेर देशसेवाको नयाँ आयाम प्रस्तुत गरे। 

राजनीति यात्रा

बोगटीले २०३४ साल देखि राजनीति सुरु गरेका थिए , पुस्पलाल समुह (पुष्पलाल श्रेष्ठ-  नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता) मा संगठित भएका थिए र पछि २०३५/३६ सालको अन्दोलनमा धोका दिएको भन्दै पुष्पलाल समूह छाडेर संयुक्त चौथोमा जोडिएका थिए ।

नुवाकोटका नेता प्रकाशचन्द्र लोहनीसँग राजनीतिक टकराव चुलिएपछि पोष्टबहादुर बोगटीमाथि २०४० सालमा ज्यान मार्ने उद्योगको आरोप लगाइयो। दशैंको नवमीका दिन झुटो मुद्दामा पक्राउ परेका उनलाई एक महिना जेल जीवन भोग्नुपर्‍यो। तर, अदालतले आरोप प्रमाणित गर्न नसकेपछि तिहारको भाइटीकाको दिन रिहा गरियो। 

२०४२ सालको बम काण्डमा पनि उनी पक्राउ परे। पार्टीको जिल्ला सचिव रहेका बोगटी निरन्तर निगरानीमा थिए, तर उनले कहिल्यै आफ्नो विचार र संगठनप्रतिको निष्ठा गुमाएनन्। 

जहिल्यै शान्त छलफलमा विश्वास गर्ने, तर दल बचाउन अप्ठ्यारो निर्णय लिन पछि नहट्ने बोगटी सधैं निष्ठावान र अडिग नेताका रूपमा उभिए। उनका संघर्षहरू केवल व्यक्तिगत थिएनन्, तिनीहरू परिवर्तनको इतिहास लेख्ने प्रयासहरू थिए। 

२०४४ साल  तिर अखिल नेपाल किसान संघको अध्यक्ष भएर देशमा किसान आन्दोलनको नेतृत्व गरे । बोगटीकै निर्देशनमा बारा , पर्सा ,रौतहट लगायतका तराईका  ठाउँहरूमा र पहाडमा किसानहरूको आन्दोलन अघि बढाएका थिए । 

उनी २०४०मा मशालको नुवाकोटको जिल्ला  सेक्रेटरी भए । २०४३ मङ्सिरमा क्षेत्रीए ब्यूरो सदस्य भए । २०४४ मा केन्द्रीय सदस्य भए । 

२०४६ सालको जनाअन्दोलनपछि क्रान्तिकारी कम्मुनिस्ट बीचको ध्रुवीकरण सुरु भयो जसमा ३ कम्युनिस्ट नेकपा चौथो महाधिवेशन , सर्वहारावादी श्रमिक संगठन र मशाल  मिलेर २०४८ सालमा एकताकेन्द्र(नेकपा) बनेको थियो  जसको नेतृत्व बोगटीले गरेका थिए । २०४८ सालमै भएको जिल्ला स्तरीय एकता अधिवेशनमा पनि उनी जिल्ला अध्यक्षमा निर्वाचित भए ।

२०४८ मा उनी कर्णाली इन्चार्ज, भेरी-कर्णाली उप-बियुरोको इन्चार्ज भए । २०५३ सालमा पश्चिम् ब्यूरो संगठनको इन्चार्ज हुँदै पार्टी स्थायी समिति सदस्यको रूपमा जिम्मेवारी समालेका थिए । ०५९ सालमा संकटकाल लागू भेसकैपछि , घर बस्ने अवस्था नभएपछि उनी भूमिगत भएका थिए । राज्यका तर्फबाट घरघरमा गएर नेताका घरमा दुख दिने क्रम बढेपछी उनी पनि भूमिगत भए ।

Posta-Bahadur-bogati-7-1739428523.png

तत्कालीन जनयुद्वताका पोष्टबहादुर बोगटी अन्य माओवादी लडाकूहरूसँग ।

१० वर्ष सशस्त्र विद्रोहमा होमिएका उनी पार्टीमा सधैँ संघर्ष हुँदा मध्यमर्गी बाटो आपनाउँथे । शान्ती प्रक्रियामा आउँदा बोगटी पश्चिम् कमान्डको इन्चार्ज थिए । एकीकृत नेकपा माओवादी बहुपदमा गएपछि बोगटीले पार्टी सचिवको जिम्मेवारी सम्हालेका थिए । 

हेटौंडामा २०६९ माघमा एकीकृत नेकपा माओवादीको एकताको सातौं राष्ट्रिय महाधिवेशन हुँदा पार्टीको महासचिव सर्वसम्मत रूपमा चयन भए । २०७१ वैशाखमा विराटनगरमा भएको राष्ट्रिय समेलनपछि पार्टी कार्यालयमा भएको निर्वाचनबाट पदाधिकारी चयन हुँदा १०९ मत प्राप्त गरि उपाध्यक्षमा विजयी भए । बोगटी राजनीतिमा सरल, मिलनसार र इमानदार नेताको रूपमा चिनिदैं आएका थिए ।

२०६२/६३ को जनआन्दोलनको सफलतासँगै २०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर ३ बाट बोगटी सभासद् चुनिएका थिए । उनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सबै भन्दा विश्वासिला पात्र थिए  । 

उनको योगदान

२०३४ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय, पोष्टबहादुर बोगटी नेपाली राजनीतिक इतिहासका सशक्त पात्र हुन्, जसले परिवर्तनको गहिरो तरङ्ग ल्याए। माओवादी सशस्त्र संघर्षको औपचारिक सुरुवातभन्दा पहिल्यै भूमिगत राजनीति मार्फत बोगटीले आफ्नो क्रान्तिकारी यात्रा प्रारम्भ गरिसकेका थिए। 

एकीकृत नेकपा माओवादीका संस्थापकहरूमध्ये एक बोगटी केवल विचारको अभियन्ता मात्र नभई साहस र कार्य क्षमताको प्रतीक पनि थिए। माओवादी संघर्षको पूर्वाधार बनाउन सिरानचोक, गोरखामा आयोजित फौजी तालिममा सहभागी बोगटीले युद्ध रणनीतिको आधारशिला तयार गरेका थिए। संघर्षको तीव्र धारलाई अझ व्यापक बनाउन उनले पश्चिम कमाण्डको नेतृत्व गरे, जहाँ माओवादी आन्दोलनले आफ्नो शक्तिशाली उपस्थिति चाँडै नै विस्तार गर्‍यो।

prachanda-with-bogati-1739430822.png

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बोगटी ।

तर बोगटीको ख्याति केवल युद्ध कौशलमै सीमित थिएन। सरलता र सौम्यता उनका मुख्य विशेषता थिए, जसले उनलाई सबै राजनीतिक धारका व्यक्तिहरूसँग जोड्न सक्ने एक अद्वितीय व्यक्तित्व बनायो। एक त्यस्ता नेता, जसले अडान र आत्मीयताबीच सन्तुलन कायम गर्दै, नेपाली राजनीतिमा एउटा अमिट छाप छोडे। उनका कार्यहरूले संघर्षलाई शक्ति र नेतृत्त्वलाई निष्ठाको पर्याय बनाए। 

पहिलो संविधानसभामा माओवादीका प्रमुख सचेतक रहेर पोष्टबहादुर बोगटीले नेपालको राजनीतिक र आर्थिक संरचनामा महत्वपूर्ण योगदान पुर्‍याए। सूचना, पर्यटन, नागरिक उड्डयन र ऊर्जामन्त्रीको जिम्मेवारीमा रहँदा बोगटीले नेपालको पर्यटन र ऊर्जा क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याए। 

पर्यटन मन्त्रीका रूपमा नेपाल वायु सेवा निगमको स्तरोन्नति गर्न उनले गरेको निर्णायक कदम र उर्जामन्त्री हुँदा चिनियाँ लगानी भित्र्याउनको लागि गरिएको उनको पहलले ऊर्जा क्षेत्रमा थप सम्भावनाका ढोका खोल्यो। जलविद्युत क्षेत्रको रणनीतिक सुधारमा उनका प्रयासहरूले नेपालको ऊर्जा भविष्यलाई बलियो बनायो, जसले उनलाई नेपालको ऊर्जा क्रान्तिको एक अहम् हस्तीको रूपमा चिनायो। 

नुवाकोट मात्र नभाइ देशका कयौं भुभागमा काम गरेका उनले पार्टीको पोलिट्ब्युरो सदस्य, स्थायी कमिटी सदस्य , महासचिव र उपाध्यक्षसम्मका पद र जिम्मेवारी हासिल गर्न सफल भए । ८ कक्षा पास गरेका उनी कुनै चिजमा पछि भने परेका थिएनन् त्यो चाहे युद्धमा होस वा राजनीतिमा । जहाँ गाह्रो पर्यो त्यहाँ बोगटीको माग हुन्थ्यो । 

उनको मृत्यु कसरी भयो ?

बोगटी छ‌ोराको मृत्युपछि मानसिक रूपमा विक्षिप्त भएका थिए । जनयुद्धताका छोराको शोकलाई शक्तिमा बदलेका उनी शान्तिप्रकियाम आएसँगै एकमात्र छोरा गुमाउनु परेकोमा निकै चिन्तित देखिने गरेको राजनीतिज्ञहरू बताउने गर्थे । पछिल्लो समयमा उनीमा छोराको अभाव खट्किएको थियो । युद्धमा छोरा बचाउन नसकेकोमा उनी दुखी थिए । 

त्यो दुख उनी समकालीन नेतहरूसँग पनि पोख्थे । त्यही पिरले उनलाई भित्रभित्रै खाएको थियो । २०७१ साल भाद्र ३० गते उनको परिवारमा अर्को बज्रपात आयो । भादौ २९ गते राति नै बोगटीको स्वास्थ्यमा संकट आयो । उनलाई नर्भिक अस्पताल लगियो । तर चिकित्सकले उनलाई बचाउन सकेनन् । भदौ ३० को बिहान बोगटी परिवारमा मत्रै होइन देशकै लागि कालो बिहान भयो । उज्यालो हुन नपाउँदै उनले यो भौतिक संसार त्यागे ।  ७ बजेर १५ मिनेटमा बोगटी हृदयाघात र मस्तिष्कघातका कारण अस्ताएको चिकित्सकले घोषणा गरे ।

Posta-Bahadur-Bogati-Death--1739427429.png

बोगटीको पार्थिव शरीर ।

उनको शव श्रदाञ्जलीका लागि पार्टी कार्यालयमा राखियो । उनको पार्थिव शरीरलाई सडकदेखि सत्तासम्मका हजारौंले अन्तिम श्रद्धाञ्जली दिए। तर, एक व्यक्ति सधैँ उनको छेउमा उभिरहे । उनी थिए प्रचण्ड। हस्पिटलदेखि घाटसम्म उनी बोगटीको अन्तिम यात्राका एक मात्र राजनीतिक सहयात्री बने। प्रचण्डका उनी राजनीतिक सहयात्री मात्रै थिएनन् पारिवारिक सम्धी पनि थिए । 

मृत्यु त सबैको हुन्छ, तर बोगटीको गाथा अलग छ। क्रान्तिमा सबै गुमाएर उभिएका उनी पार्टीभित्र स्वच्छ छविका प्रतीक थिए। उनको निधनले एकीकृत माओवादीलाई गहिरो खालीपन दियो । जसको सबैभन्दा ठूलो असर प्रचण्डलाई पर्यो । बोगटीको अभाव सधैं पार्टी र प्रचण्ड दुवैलाई खट्किरहनेछ। 

शालिक निर्माण

नेपालको परिवर्तन यात्रामा अग्रणी भूमिका खेलेका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको सम्मानमा जन्मथलो नुवाकोटमा शालिक निर्माण भएको छ । विदुर-७ तुप्चेमा पूर्ण कदको शालिक बनेको हो । उक्त शालिकको अनावरण २०७८ फागुन २८ मा अध्यक्ष प्रचण्डले गरेका थिए । १५ लाखको लागतमा निर्माण गरिएको यो शालिकसँगै चौतारा पनि बनाइएको छ । जसले बोगटीको संघर्षको कथालाई सदैव जीवित राख्नेछ। 

Posta-Bahadur-bogati-5-1739428518.png

बोगटीको आधा र पूर्ण कदकाे शालिक माल्यार्पण गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

त्यस्तै विदुर-१ बाँद्रेमा पोष्टबहादुरको सम्मानमा 'बोगटी बहुप्राविधिक शिक्षालय' स्थापना गरिएको छ । जसले युवालाई रोजगारी र उच्च शिक्षाका अवसरहरू सिर्जना गरिरहेको छ।

सत्य र धर्म कमाएका नेता बोगटीले क्रान्तिको बलिदान बुझेका थिए। जनयुद्धमा होमिएका कलिला लडाकुहरूको बलिदानी, देशका लागि लडेका सैनिकहरूसँगको भिडन्त र आफूले बोक्नुपरेका राजनीतिक भारहरू यी सबै इतिहासको छाया बनेर उनका नामसँगै रहनेछन्। 

बोगटीको योगदानको कथा नुवाकोटका गल्लीहरूमा मात्र होइन, नेपालको इतिहासको पानामा सुनौला अक्षरहरूमा लेखिसकिएको छ । कर्मले सत्य र धर्म कमाए पनि उनका शरीरमा द्वन्द्वका समयमा लागेका रगतका दाग भने सधैं नै बसी रहनेछ । देशको नुन खाएर देशका लागि लड्ने तत्कालीन नेपाली सेना र देशका मु्क्तिका खातिर लडेक माओवादी सेनाको मृत्युको भार सदैव उनको टाउकोमा हुनेछ ।

Posta-Bahadur-bogati-4-1739428505.png

परिवारका साथमा बोगटी ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update