काठमाडौं - चर्चित गायक तथा सर्जक यश कुमारले नेपाली सांगीतिक क्षेत्रमा नयाँ प्रयोग गर्दै २० मिनेट लामो सांगीतिक सिनेमा ‘तिम्रो मेरो मायामा’ सार्वजनिक गरेका छन्।
सोमबार राजधानीमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको यस सिनेमाले गीत, अभिनय, र निर्देशनलाई एकसाथ प्रस्तुत गर्दै दर्शकमाझ नयाँ स्वाद पस्केको छ। वरिष्ठ साहित्यकार राज मुकारुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले कार्यक्रममा बोल्दै यश कुमारको संगीतबिना नेपाली संगीत यात्रा अपूरो हुने उल्लेख गरे।
यो सांगीतिक सिनेमामा गायक यश कुमार र स्मिता प्रधानको सशक्त स्वर रहेको छ। विशेष कुरा के छ भने उनीहरूले अभिनय पनि गरेका छन्, जसले भिडियोमा थप गहिराइ ल्याएको छ।
गीतको शब्द, संगीत, निर्देशन सबै यश कुमारकै सिर्जना हो, जसले उनलाई बहुप्रतिभाशाली कलाकारका रूपमा पुन: प्रमाणित गरेको छ।
सार्वजनिक भिडियोमा यश र स्मितासँगै रमिला मोक्तान, रेशम बुढाथोकी, र कल्याण ढुंगानाको अभिनय देख्न सकिन्छ।
दिनेश पराजुली एण्ड टिमको छायांकन, करण सिंहको प्रोडक्सन डिजाइन, र विकास धमालाको सम्पादनले भिडियोलाई उत्कृष्ट बनाएको छ।
यस प्रकारको लामो सांगीतिक सिनेमा कमै निर्माण हुने भएकाले, ‘तिम्रो मेरो मायामा’नेपाली संगीतको विकासमा महत्वपूर्ण कोसेढुंगा सावित हुन सक्छ। यश कुमारका हरेक सिर्जनाले समाज र प्रेमको गहिरो भाव व्यक्त गर्दै आएका छन्, र यो प्रस्तुति पनि त्यसैको एक उदाहरण हो।