Harsamaya
आठ लाखमा बनेको शौचालय एक वर्षमै बन्द
काठमाडौं वडा नम्बर २९ सेतोपुलको मुखैमा बनेको सार्वजनिक शौचालय प्रयोग भएको एक वर्ष पनि नभइ बन्द।

काठमाडौं - आठ लाख खर्च गरेर बनाएको शौचालय एक वर्षमै बन्द भएको छ । काठमाडौं वडा नम्बर २९ सेतोपुलको मुखैमा बनेको शौचालय प्रयोग भएको एक वर्ष पनि नभइ बन्द भएको हो । गएको वैशाखमा वडा नम्बर २९ ले आठ लाखमा बनाएको दुई कोठे सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको थियो ।  शौचालय बन्द हुँदा वरिपरि रहेका व्यवसायी, पैदल यात्रु र ट्राफिक प्रहरीहरूलाई समस्या भएको छ ।  

धोबीखोला करिडोरमा चिया पसल खोलेर बसेका राममणि नेपाल (नाम परिवर्तन) ले सार्वजनिक शौचालय २५ दिनदेखि बन्द रहेको बताए ।  ‘मन लागे खोल्छन् मन नलागे बन्द गर्छन् उनले भने,  ‘२५ दिन भन्दा बढी भयो शौचालय बन्द रहेको छ ।’ 

स्थानीय सीता परियार(नाम परिवर्तन)ले पनि वडाले सञ्चालन गरेको शौचालय एक महिनादेखि बन्द रहेको बताइन् ।  ‘पहिला पनि ४/५ दिन खोलेर बन्द गर्थे उनले भनिन्,  ‘अहिले लगातार एक महिना बन्द छ ।’  के कारण बन्द भएको हो आफूलाई जानकारी नभएको उनले बताइन् । ड्युटीमा रहेका ट्राफिक प्रहरीले पनि शौचालय बन्द हुँदा समस्या भएको बताए । 

वडा नम्बर २९ का वडा अध्यक्ष कुश ढकालले पानी तान्ने मेसिन बिग्रेर शौचालय बन्द गर्नुपरेको बताए । केही दिनमा नै शौचालय सुचारु हुने उनले जानकारी दिए । काठमाडौंकै वडामा रहेको शौचालयको मेसिन बिग्रेर शौचालय नै हप्तौं बन्द हुनु भनेको लाजमर्दो कुरा हो । तर सार्वजनिक शौचालय भने महिनौं बन्द रहेको छ । उक्त सार्वजनिक शौचालयमा दिशा गरेको १० रुपैयाँ र पिसाबको ५ रुपैयाँ लिने गरिएको थियो । 

काठमाडौं महानगरले सार्वजनिक शौचालय निःशुल्क गर्ने निर्णय गरेपनि वडा नम्बर २९ का अध्यक्ष ढकालले शौचालय प्रयोग गरेबापत शुल्क उठाउँदै आएका थिए । उनले मेयर बालेन शाहले सफा गर्ने व्यक्तिलाई तलब दिएमात्र निशुल्क गर्ने बताएका थिए ।

उक्त शौचालय सुरुमा धोबीखोलाको करिडोरमा मापदण्ड विपरीत बनेको थियो । धोबीखोला करिडोरको ९ मिटर भित्र निर्माण गरिएकाले आधा संरचना हटाएर पुनः निर्माण गर्दा दुई वर्षमा दुई कोठे शौचालय निर्माण भएको थियो । खोला किनारबाट ९ मिटर दूरीमा बनाएको संरचनालाई  बागमती एकीकृत सभ्यताले मान्यता नदिएपछि भत्काएर पुन बनाइएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update