
काठमाडौं - विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
आकस्मिक र शून्य समय सकिएपछि आकस्मिक समयमा बोल्न छुटेको भन्दै उपसभामुख इन्दिरा रानाले कांग्रेस सांसद रामहरि खतिवडालाई बोल्न समय दिएपछि विपक्षी दलले विरोध जनाएका थिए । खतिवडाले बोल्दै गर्दा रास्वपा सांसद गणेश पराजुलीले कुन नियमावली अनुसार बोल्न दिएको भन्दै नियमापत्ति जनाएका थिए ।
त्यस्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पनि संसद् नियमावली अनुसार नचलेको बताए । उनले खतिवडालाई बोल्न दिएको बारेमा सचिवालयको जवाफ चाहिने बताए । विपक्षी दलको अवरोधपछि उपसभामुख रानाले प्राविधिक त्रुटि भएको भन्दै अध्ययन गर्न संसद सचिवालयलाई आदेश दिइन् ।
तर विपक्षी दलले उठेर विरोध जनाएपछि सभामुखको आसनमा देवराज घिमिरे आएका थिए । उनले यस विषयमा सचिवालयले आवश्यक छलफल गर्ने भन्दै बस्न आग्रह गरेका थिए । तर विपक्षी दलले उठेर निरन्तर विरोध जनाएपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरे ।