काठमाडौं - काठमाडौं महानगरका मेयर बालेन शाहको नयाँ गीत ‘नेपाल हाँसेको’ युट्युबको संगीत ट्रेन्डिङमा शीर्षस्थानमा पुगेको छ। सोमबार साँझ रिलिज भएको गीत २४ घण्टा नपुग्दै नम्बर १ मा पुगेको हो।
बालेनकै शब्द, संगीत, स्वर र र्याप समेटिएको यो गीत उनले मेयर बनेपछि सार्वजनिक गरेको पहिलो गीत हो। गीतमा वैदेशिक रोजगारीको पीडा र विकसित नेपालको कल्पना प्रस्तुत गरिएको छ।
फिल्म ‘लाज शरणम्’ को प्रमोसनल गीतको रूपमा ल्याइएको यो म्युजिक भिडियो दर्शकमाझ लोकप्रिय बनेको छ। समाचार तयार पार्दासम्म भिडियो ८.५ लाखभन्दा बढी पटक हेरिएको छ।
गीतको भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन्। सुरेन्द्र बस्याल र रोशन विश्वकर्माले सहायक कोरियोग्राफरका रुपमा विष्टलाई साथ दिएका छन्। भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डे जस्ता कलाकारको अभिनय रहेको छ।
यस फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका छन्। नवीन श्रेष्ठको निर्माणमा बनेको यो फिल्ममा राम नरेश शाह र सृजना खड्का सह-निर्माता छन् भने अर्जुन घिमिरे 'पाँडे' कार्यकारी निर्माता रहेका छन्।
फागुन १४, महाशिवरात्रिमा रिलिज हुने यो चलचित्र हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिम ले बनाएको हो। जसमा सिताराम कट्टेल ‘धुर्मुस’ प्रमुख भूमिकामा छन्। अब हेर्न बाँकी छ, मेयर बालेनको आवाजले ‘लाज शरणम्’ लाई ब्लकबस्टर बनाउनेछ कि प्रचार मात्र ?