Harsamaya

काठमाडौं - राजनीतिक नेतृत्वसँगै हिपहपमा विशिष्ट पहिचान बनाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको स्वर, शब्द र संगीत रहेको गीत ‘नेपाल हाँसेको’ सार्वजनिक भएको छ। यो गीत चलचित्र ‘लाज शरणम्’ का लागि नयाँ भिडियोसहित सार्वजनिक भएको हो। यो गीत बालेनले १० वर्ष अघि नै गाएका थिए । सोही गीतलाई‘लाज शरणम्’ टिमले आफ्नो फिल्ममा राखेको हो। स्रोतका अनुसार यो गीतको भिडियो हिजो मात्रै सुटिङ गरिएको हो ।

‘लाज शरणम्’ टिमले आइतबार नै आफ्नो दोस्रो प्रमोसनल गीत सार्वजनिक गर्ने जानकारी दिएको थियो। ओएसआर डिजिटल यूट्युब च्यानलमार्फत अपरान्ह ३:१५ बजे गीत सार्वजनिक हुने पूर्व जानकारी दिएपनि सो च्यानलमार्फत गीत सार्वजिनक भएन। निर्धारित समयभन्दा ढिला बालेन नामक यूटुबबाट ४:३५ मा सो गीत रिलिज भएको हो। ओएसआर डिजिटलमा भनी बालेनको यूट्युबबाट भिडियो सार्वजनिक हुनुले कतै जेपिटि क्रिएसन  र मेयर बालेनबीच खट्पट भएको हो कि भन्ने अनुमान गर्न सकिन्छ।

‘नेपाल हाँसेको..’ गीतले नेपालको वर्तमान अवस्था र समाजको यथार्थलाई वास्तविक रूपमा चित्रण गरेको छ। गीतमा ‘म नेपाल हाँसेको हेर्न चाहान्छु ,नेपाली खुशीले बाँचेको हेर्न चाहान्छु’ भने पनि गीतको भिडियोले सबैलाई रूहाउँछ। भिडियोमा वैदेशिक रोजगारी, सहिद र बाकसमा शव आएको मार्मिक दृश्य देखाइएको छ। एक नाबालक र वैदेशिक रोजगारीमा गएका श्रीमानको मृत्युको मर्मस्पर्शी दृश्यले सबैलाई गहिरो सोचमा पुर्याएको छ। 

भिडियोमा नेपाली टेलीसिरियल जुठेका कलाकार रामबाबू रेग्मी, बाल कलाकार आयुसी ढकाल र सानू पाण्डेको उत्कृष्ट अभिनय देख्न सकिन्छ। जहाँ पात्रले शब्द त निकाल्दैनन तर दर्शकको आँखाबाट आँसु भने निकाल्छन् ।  

गीतको भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन्। सुरेन्द्र बस्याल र रोशन विश्वकर्माले सहायक कोरियोग्राफरका रुपमा विष्टलाई साथ दिएका छन्। भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डे जस्ता कलाकारको अभिनय रहेको छ। कलाकारहरू बालेन गेटअपमै देखिएका छन् । उनीहरू कालो टोपी, कोट र दौरा सुरूवालमा सजिएका छन्  । 

अँध्यारो पृष्ठभूमिमा छायांकन गरिएको दृश्य निकै मनमोहक छ ।

गीतको भिडियोमा पात्र चयन आवश्यकता भन्दा पनि लादिएको जस्तो देखिन्छ। पाँडे, हरिश निरौला र सागर लम्सालको अभिनय त्यति राम्रो देखिएको छैन। गजित विष्ट र अन्य कलाकारको अभिनय भने दमदार छ।  

गीतको दृश्य निर्माण पक्षमा सिनेमाटोग्राफर ज्ञानेन्द्र शर्मा, सम्पादक प्रविन भट्ट, तथा रंग संयोजन (कलरिस्ट) मिलन विश्वकर्माले गरेका छन्।

संगीत उत्पादन, मिक्सिङ र मास्टरिङ ‘फोसेल’ ले गरेको छ भने सारंगीको जिम्मेवारी किरण नेपालीले लिएका छन्। सारंगीको मिठो धुनले गीतलाई सजीव बनाएको छ। चलचित्रको प्रचारलाई नयाँ उचाइ दिन बालेनको लोकप्रियतालाई बलियो हतियार बनाइएको छ। निर्माण टिमले यो गीतले ‘लाज शरणम्’ को उचाइ थप बढाउने विश्वास लिएको छ।

यस फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका छन्। नवीन श्रेष्ठको निर्माणमा बनेको यो फिल्ममा राम नरेश शाह र सृजना खड्का सह-निर्माता छन् भने अर्जुन घिमिरे 'पाँडे' कार्यकारी निर्माता रहेका छन्।

फागुन १४, महाशिवरात्रिमा रिलिज हुने यो चलचित्र हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिम ले बनाएको हो। जसमा सिताराम कट्टेल ‘धुर्मुस’ प्रमुख भूमिकामा छन्। अब हेर्न बाँकी छ, मेयर बालेनको आवाजले ‘लाज शरणम्’ लाई ब्लकबस्टर बनाउनेछ कि प्रचार मात्र? 

काठमाडौं महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष ख्याम राज तिवारी, वडा नं ९ का वडा अध्यक्ष राम्जी भण्डारी, वडा नं ३१ का वडा अध्यक्ष सरोज ढकाल, वडा नं २९ का वडा अध्यक्ष कुष ढकाल, वडा नं ३० का वडा अध्यक्ष दलबहादुर कार्की, वडा नं २९ का वडा सचिव शम्भु बराल, ठमेल पर्यटन विकास परिषदका अध्यक्ष धुर्व अधिकारी र उपाध्यक्ष राजिब पाण्डेले बालेनको समर्थन जनाउँदै भिडियो मार्फत फिल्म हेर्न अनुरोध गरेका छन्।

हड्बडीमा गड्बडी : लाज शरणम् टिमको चरम अव्यवसायिकता !

‘लाज शरणम्’ ले पछिल्लो समय दर्शक-श्रोताको माया पाएता पनि अहिले यसको निर्माण पक्षको लज्जास्पद लापरबाही खुल्दै गएको छ। अघिल्लो म्युजिक भिडियोमा झण्डै चिप्लिएको जेपीटी टिम यसपटक भने पुरै लडेको छ।

आज ३:१५ मा रिलिज हुने भनिएको बालेनको शब्द-संगीत रहेको म्युजिक भिडियो हेर्न दर्शक आतुर थिए। तर, समयमै भिडियो नआउँदा सिनेमा प्रेमी मात्र होइन, सर्वसाधारण समेत निराश भएका छन्। 

निर्धारित समयमा भिडियो रिलिज गर्न नसक्नुले चरम अव्यवसायिकता प्रस्ट पारेको छ। जसले गीत निर्माणमै यस्तो लापरबाही देखिएको छ भने फिल्म निर्माणको स्तर के होला? भन्ने गम्भीर प्रश्न उठेको छ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update