
काठमाडौं - नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले अबको पार्टी सभापति र प्रधानमन्त्रीमा डा.शेखर कोइरालालाई प्रस्ताव गरेकी छिन् । आज (सोमबार) जीपी फाउन्डेसन भक्तपुरको कार्यक्रममा उनले अब कांग्रेस सभापति र प्रधानमन्त्री दुवै डा. कोइराला हुने जिकिर गरेकी हुन् ।
कांग्रेसलाई भूमिकाविहीन बनाइएको र देश विकासको श्रेय प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको भन्दै उनले यस्तो अवस्थामा पुर्याउने शेरबहादुर देउवालाई प्रधानमन्त्री र सभापति कुनै पनि पदमा अब स्वीकार नगर्ने उद्घोष गरिन् ।
‘कांग्रेसलाई यो अवस्थामा पुर्याउनेलाई अब कुनै पनि रूपमा अघि बढाउन सकिँदैन’, सुजाताले भनिन्, ‘अबको प्रधानमन्त्री शेखर कोइराला हो, अबको कांग्रेसको सभापति पनि डा. शेखर कोइराला नै हो ।’ उनले फाउन्डेसन राजनीतिक फोरम नभए पनि आफूले यहीँबाट यस्तो घोषणा गरेको बताइन् । देशमा प्रजातन्त्र कमजोर रहेको र कांग्रेस भूमिकाविहीन अवस्थामा देखिएको उनले टिप्पणी गरिन् ।