Harsamaya
त्रिविको लापरबाही: रिजल्ट आएको तीन महिनासम्म पनि दिएन बीआइटीको ट्रान्सक्रिप्ट
ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि)का लापरबाहीका कारण चार वर्षे स्नातक तह सूचना प्रविधि अर्थात व्याचलर्स इन इन्फर्मेसन टेक्नोलोजी (बीआइटी) पास गरेका विद्यार्थीहरूको भविष्य नै अन्योल भएको छ । २०८१ साउनमा सञ्चालन भएको आठौं सेमेस्टारको परीक्षाको रिजल्ट प्रकाशन गरेको तीन महिना बितिसक्दा पनि ट्रान्सक्रिप्ट दिन नसकेर त्रिविले विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गरेको हो । बीआइटी सकेर माथिल्लो पढाइ गर्न वा कामका लागि विदेश जान लागेकाहरू यसबाट धेरै मारमा परेका छन् । 

चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसबाट बीआइटी सकेपछि भरतपुरकी विमला भण्डारी थप पढाइका लागि बेलायत जाने तयारीमा थिइन् । बेलायतको एक युनिभर्सिटीबाट विमलालाई रिसर्च एण्ड साइकर सेक्युरिटिज विषयका लागि अफर लेटरसमेत आएको थियो तर उनले प्रमाणपत्र नभएका कारण मागिएको कागजपत्र दिन सकिनन् । केही समयसम्म उनी ट्रान्सक्रिप्टका लागि चितवन र काठमाडौं दौडिन् तर उनले निराशा मात्रै पाइन् । त्रिविमा जाँदा ट्रान्सक्रिप्टको नमूना नै बनेको छैन भनेर उनलाई घर फर्काइयो । ‘केही दिनपछि बन्ला भन्दाभन्दै तीन महिना बित्यो’, उनले भनिन् ‘अझै पनि त्रिविले नमूना नै बनेको छैन भनिरहेको छ ।’ 

विमला मात्रै होइन बीआइटी पहिलो ब्याचका पाँच वटा क्याम्पसका २ सय बढी विद्यार्थीले अहिले विमलाको जस्तै हालत भोगिरहेका छन्  । तर पनि त्रिविबाट भरलाग्दो उतर भने उनीहरूले पाउन सकेका छैनन् । 

बीआइटी विभागका डिन शंकर प्रसाद खनाल आफ्नो तर्फबाट सबै काम पुरा भएको बताउँछन् । ‘हामीले गर्नुपर्ने सबै काम गरेर पठायौं ट्रान्सक्रिप्टको नमूनापनि फाइनल गरेर पठायौं’ उनले भने, ‘बाँकी अब परीक्षा नियन्त्रण कार्यालयको जिम्मामा छ ।’ यता परीक्षा नियन्त्रण कार्यालय बल्खुले पनि ट्रान्सक्रिप्टको नमूना कस्तो हुने फाइनल हुन नसकेको बताउँछ ।

सामान्यतया परीक्षार्थीले फाराम भरेको दुई हप्तामा ट्रान्सक्रिप्ट प्राप्त गर्न सक्दछन् । तर बीआइटी त्रिविको पहिलो ब्याच भएकाले त्यसको ट्रान्सक्रिप्टको नमूना कस्तो हुने अझै अन्योल नै छ । ‘त्रिविले समयमा नै काम गर्न नसक्दा यस्तो समस्या आएको एक प्राध्यापकले बताए । छैटौं सेमेस्टारको परीक्षा सक्नासाथ ट्रान्सक्रिप्टको काम सुरु गर्नुपर्थ्यो’ उनले भने, ‘परीक्षाफल सकिदासम्म ट्रान्सक्रिप्टको नमूना नबन्नु त्रिविको लापरबाही हो ।’ 

त्रिविले आफ्नो मातहतमा रहेका पाँच वटा कलेजबाट पहिलो पटक २०७६ मा बीआइटी विषयको पढाइ सुरु गरेको थियो । 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update