
काठमाडौं - काठमाडौंको कमलपोखरीमा रहेको शान्दार मममा ग्याँस विस्फोटमा परी घाइते भएकाहरू अझै खतरामुक्त नरहेको अस्पतालले जनाएको छ । उक्त घटनामा परी घाइते भएका ११ जनाको शरीर २० प्रतिशत देखि ६० प्रतिशतसम्म जलेकोले खतरामुक्त नरहेको अस्पतालले आइतबार जनाएको हो । किर्तिपुर अस्पतालका प्लाष्टिक सर्जन डा.विशाल कार्कीले २० प्रतिशत माथि मेजर वर्न मानिने हुनाले उनीहरू खतरामुक्त नरहेको जानकारी दिए ।
घाइते ११ मध्ये ७ जनाको शल्यक्रिया भइसकेको छ । ‘बिहीबार एक जनाको अप्रेसन भयो उहाँको टाउको र खुट्टामा धेरै जलेको थियो’, कार्कीले भने, ‘अन्यको शुक्रबार अप्रेसन गरिएको छ ।’ बाँकी घाइतेहरू अहिले अब्जरभेसनमा रहेकाले घाउको अवस्था हेरेर अप्रेसन गर्नु पर्ने नपर्ने एक दुई दिनमै थाहा हुने उनले बताए ।
घाइते धेरैको अनुहार जलेकाले श्वासप्रश्वास नलीमा पनि समस्या भएको छ कि त्यसको जाँच भइरहेको उनले जानकारी दिए । आगलागीका घटनामा परेकाहरूले धुँवा पनि निल्ने भएकाले श्वासप्रश्वासको नली पनि पोलिने डर हुन्छ । जसले गर्दा बिरामीलाई श्वास फेर्न गाह्रो हुने र पछि पनि समस्या देखिन सक्ने कार्कीले जानकारी दिए ।
गत बिहीबार बिहान शान्दार मम रहेको भवनमा ग्याँस विस्फोट भएको थियो । उक्त विस्फोटमा ११ जना घाइते भएका थिए । घाइतेहरूको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
को को छन् त घाइते ?
१. प्रदिप मगर २२ वर्ष
२. रविन राई १९ वर्ष
३. मनिष पोखरेल १८ वर्ष
४. यश कुमार घले मगर २० वर्ष
५. आयुष मगर २० वर्ष
६. रोहन लामा थिङ १८ वर्ष
७. भिम बहादुर आले २५ वर्ष
८. धन बहादुर तामाङ्ग २१ वर्ष
९. संयोग राना मगर २४ वर्ष
१०. विराज मगर २८ वर्ष
११. छिरिङ्ग लामा २७ वर्ष
जलनका घाइतेहरूको उपचारका निमित्त किर्तिपुर अस्पतालले प्रा.डा. शंकर मान राईको नेतृत्वको विशेषज्ञ टोली खटाएको छ । उक्त टोलीमा अरु को को छन् त ?
१. डा. विशाल कार्की (प्लाष्टिक सर्जन)
२. डा. मंगल घर्तिमगर (प्लाष्टिक सर्जन)
३. डा. प्रदीप राजभण्डारी (एनेस्थेसिया विभाग प्रमुख तथा समूह)
४. डा. प्रविण गिरी (गम्भीर हेरचाह विशेषज्ञ तथा समूह)
५. डा. प्रयुष अर्याल (इमर्जेन्सी विभाग प्रमुख तथा समूह)
७. रिना गौचन (नर्सिङ्ग सुपरभाईजर)
आगलागीमा परे के गर्ने ?
डा. कार्कीका अनुसार आगलागीका घटना हुँदा पहिले त आगो निभाउनै ध्यान दिनुपर्छ । बलिरहेको आगो निभाउन भुइमा लडीबुडी गर्ने अथवा ब्ल्याङकेट भए त्यसले छोप्नुपर्दछ । शरिरका भागहरू जले घाउमा पानी हाल्नुपर्दछ । हाम्रो चलन छ आइस, घिउ कुमारी र गोलभेडा लगाउने तर त्यसो गर्नुहुँदैन । पोलेको ठाउँमा २० मिनेटसम्म पानी हालिराख्नुपर्छ ।
हामी हतारिएर डराएर पोलेका बिरामीलाई अस्पताल कुदाउँछौं । अस्पतालमा पनि तत्काल उपचार पाउँछ भन्ने छैन । त्यसो हुँदा पोलेको घाउ अझै गहिरो हुन सक्छ । र धेरै असर गर्न सक्छ । त्यसैले घटनास्थलमा पानी छ भने २० मिनेटसम्म पानी हालेपछि बिरामीलाई अस्पताल लैजाँदा राम्रो हुन्छ । पानी हाली राख्यो भन्यो घाउ गहिरो नहुने र अप्रेसन गर्न नपर्ने पनि हुन सक्छ ।
यो पनि पढ्नुहोस