
काठमाडौं - विश्वका सातवटै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियान थालेका नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण गरेका छन् ।
अर्जेन्टिनास्थित माउन्ट अकोन्कागुआको बिहीबार (यही फेब्रुअरी ६ तारिख) सफलतापूर्वक आरोहण गरेको पाण्डेले आज जानकारी दिए । आरोहणपछि त्यहाँबाट उनले आरोहण गरेको प्रमाणपत्रसमेत प्राप्त गरिसकेका छन् ।
आरोही पाण्डेले अकोन्कागुआको शिखरमा स्थानीय समयअनुसार बिहीबार बिहान ७:५० बजे चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झन्डा फहराएका छन् । उक्त चुचुरो ६ हजार नौ सय ६१ मिटर अग्लो छ । उनले आगामी बुधबारसम्ममा नेपाल आइपुग्ने भिडियो कुराकानीमार्फत जानकारी दिए ।
सातै महादेशका उच्च शिखरहरुको आरोहण गर्ने अभियानअन्तर्गत पाण्डे प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय झन्डा लिई जनवरी २१ मा अर्जेन्टिनाको ब्युनस आयर्सतर्फ प्रस्थान गरेका थिए ।
पर्वतारोहणको क्षेत्रमा विशेष मानिने सेभन समिट अभियानमा उनको यो चौथो हिमाल आरोहण हो भने समग्रमा उनको यो ११औँ आरोहण भएको पनि पाण्डेले जानकारी दिए । उनी सन् २०२२ देखि यस अभियानमा छन् । यस अभियानमा उनीसँग कीर्तिमानी पर्वतारोही चतुर तामाङ पनि छन् ।