
काठमाडौं - जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड पुरा नगरी जनकपुरधाममा संचालनमा रहेका निजी अस्पतालहरूलाई आइतबारसम्म आफैँले ताल्चा लगाउन अस्पताल सञ्चालकहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका छन् ।
शनिबार जनकपुरधामको मुजेलियादेखि भ्रमरपुराचोकसम्मका बीस वटा निजी अस्पतालमा शनिबार अनुगमन गरेका मुख्यमन्त्री सिंहले बहुसंख्यक अस्पताल कानुनअनुसार संघ, प्रदेश र स्थानीय सरकारबाट स्वीकृति नलिइकनै सञ्चालन भइरहेकाले ती ठाउँमा उपचार गराइरहेका बिरामीलाई वैधताप्राप्त अस्पतालमा सारेर अस्पताल बन्द गर्न सञ्चालकहरूलाई निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री सिंहले अनाधिकृत तवरले खेलिएका ती अस्पताल र स्वीकृतिप्राप्त गरे पनि मापदण्डसम्बन्धी शर्त पुरा गरेको अवस्थामा नदेखिएका अस्पताललाई अस्पताल सञ्चालनसँग सम्बन्धित सबै कागजपत्र लिएर सरकारको सम्पर्कमा आउन सञ्चालकहरूलाई भनेका छन् । उनले स्वीकृतिप्राप्त तर नवीकरण नभएका, स्वीकृति प्रक्रियामा रहेका र स्वीकृतिबिनै सञ्चालनमा रहेका अस्पताललाई वैधता प्राप्त गरेर मात्र सेवा सञ्चालन गर्न चेतावनीसमेत दिएका छन् ।
सिंहले शनिबार जीवनज्योति हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, बिएन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, जनकपुर सीता हस्पिटल प्रालि, जनकपुर ग्रान्डी हस्पिटल प्रालि, रामा मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टर, मल्टी स्पेसयलिटी हस्पिटल एन्ड ट्रमा सेन्टर, समर हस्पिटल, केयर मेडिकल सेन्टर प्रालि, नेपाल एपोलो हस्पिटल प्रालि, श्रीराम हस्पिटल प्रालि, नयना अस्पताल एन्ड प्रालि, अरमान हस्पिटल प्रालि, मिहिलाल इन्टरनेसनल प्रालि, सहयोग हस्पिटल प्रालि, जनकपुर मोडर्न हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, माँ गायत्री मेमोरियल हस्पिटल प्रालि, म्याक्स हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, स्वस्तिका हेल्थकेयर अस्पताल प्रालि, लाइफ केयर एन्ड रिसर्च सेन्टर प्रालि र ओम दीर्घायु हस्पिटल प्रालिमा अनुगमन गरेका हुन । यी सबै निजी अस्पतालहरू हुन् ।
यसअघि मुख्यमन्त्री सिंहले शुक्रबार मध्यराति जनकपुरधामस्थित मुस्कान अस्पतालमा अनुगमन गरी अस्पताल सेवा सञ्चालन स्वीकृति नलिँदासम्म बन्द गर्न निर्देशन दिएका थिए । अस्पताल सञ्चालकले शनिबार मुस्कान अस्पताललाई बन्द गरेका छन् ।