Harsamaya
 सिचुवानमा पहिरोमा परी कम्तीमा ३० बेपत्ता
यिबिन शहरको जुनलियन काउन्टीमा रहेको जिनपिङ गाउँमा गएको पहिरो । तस्वीर: साउथ चाइना मर्निङ पोष्ट ।

छेन्दु - चीनको सिचुआन प्रान्तमा शनिबार गएको पहिरोमा १० घर पुरिँदा ३० जनाभन्दा बढी बेपत्ता भएका छन् । 

पहिरोस्थलबाट करिब २०० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

यिबिन शहरको जुनलियन काउन्टीमा रहेको जिनपिङ गाउँमा बिहान ११:५० बजे पहिरो गएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

चिनियाँ समाचार संस्था सीसीटीभीले स्थानीय अधिकारीलाई उद्धृत गरी लेखेको समाचारमा भनिएको छ,‘पहिरोले करिब १० वटा घर पुरेको छ भने ३० जनाभन्दा बढी हराइरहेका छन् । पहिरोको जोखिम रहेको पहिरो वरपरको क्षेत्रबाट करिब २०० जनालाई सुरक्षित स्थानमा सारिएको छ।’ 

चीनका राष्ट्रपति सी चिनफिङले अधिकारीहरूलाई ‘हराइरहेका व्यक्तिहरूको खोजी र उद्धार गर्न, हताहतहरू कम गर्न र त्यसपछिको स्थितिलाई उचित तरिकाले व्यवस्थापन गर्न’ निर्देशन दिएका छन् ।  

राष्ट्रिय आपतकालीन व्यवस्थापन मन्त्रालयले एक अनलाइन पोस्टमा दुई जना पहिरोबाट सकुशल उद्धार गरिएको उल्लेख गरेको छ । 

आपतकालीन प्रतिक्रिया टोलीहरू जीवित व्यक्तिहरूको खोजीमा घटनास्थलमा पुगी काम गरिरहेको बताइएको छ। अधिकारीहरूले उद्धार र राहत प्रयासलाई सहयोग गर्न तीन करोड युआन (४१ लाख अमेरिकी डलर) पनि विनियोजन गरिएको बताएका छन् । 
 

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update